सांसदको पोशाक, भाषा र व्यवहार मर्यादित हुनुपर्छ: कानूनमन्त्री गौतम
हाम्रा कुरा
प्रकाशित २०८३ असार १६ मंगलबार
352
Shares
काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले संसदको गरिमा र औचित्य कायम राख्न सांसदहरूले आफ्नो व्यवहार, भाषा र पोशाकमा समेत विशेष ध्यान दिनुपर्ने बताएकी छन्। ६८ औँ संसद दिवसको अवसरमा मंगलबार सिंहदरबारमा आयोजित विशेष कार्यक्रममा बोल्दै मन्त्री गौतमले संसदलाई जनताको सर्वोच्च संस्थाका रूपमा स्थापित गर्न सांसदहरू स्वयं मर्यादित र जवाफदेही हुनुपर्नेमा जोड दिएकी हुन्। पछिल्लो समय संसद्को गुणस्तर खस्किँदै गएको जनगुनासो बढिरहेकाले यसप्रति सबैले गम्भीर आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता उनले औंल्याइन्।
संसदीय अभ्यासलाई परिणाममुखी र उपलब्धिमूलक बनाउनका लागि सदनको समय केवल जनताका मुद्दामा मात्र खर्चिनुपर्ने मन्त्री गौतमको तर्क छ। प्रक्रियागत र प्राविधिक विषयहरूलाई कार्यव्यवस्था परामर्श समिति वा अन्य अनौपचारिक दलगत छलफलबाटै टुङ्ग्याउन सकिने भन्दै उनले संसद्को बैठकमा शिक्षा, स्वास्थ्य र जनसरोकारका तमाम समस्यामाथि मात्र व्यापक बहस हुनुपर्ने धारणा राखिन्। जनताले तिरेको करबाट राज्यकोष र संसद्को खर्च चल्ने भएकाले सांसदहरूले रोष्ट्रममा प्राप्त गरेको एक मिनेटको समय पनि अर्थपूर्ण र देशको विकासमा केन्द्रित हुनुपर्ने उनले प्रष्ट पारिन्।
जनताले संसद्मा आफ्नो आवाज उठाउन पठाएकाले सांसदहरूले बोल्ने भाषा, शब्द चयन र संसद्मा आउँदा लगाउने पोशाकदेखि लिएर हरेक आचरणमा उच्च मर्यादा कायम गर्नुपर्ने मन्त्री गौतमले बताइन्। संसदको मान र गरिमालाई उच्च राख्ने दायित्व माननीयहरूकै व्यवहारमा निर्भर हुने भन्दै उनले आफ्नो आचरणमा कतै पनि कमजोरी आउन नहुने उल्लेख गरिन्। मन्त्री गौतमले संसदप्रतिको जनअपेक्षा र दृष्टिकोणलाई सकारात्मक बनाउन आफू व्यक्तिगत रूपमा पनि शतप्रतिशत प्रयत्नशील रहने दृढ प्रतिवद्धता समेत व्यक्त गरेकी छन्।