जेन-जी आन्दोलनप्रति अझै फेरिएन ओलीको दृष्टिकोण, पुरानै आरोप [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ असार १५ सोमबार
338
Shares
काठमाडौँ। अघिल्लो भदौमा भएको जेन-जी आन्दोलनप्रति नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको दृष्टिकोण अझै परिवर्तन भएको देखिएको छैन।
आन्दोलन भएको करिब १० महिना बितिसक्दा पनि उनले त्यसलाई पुनः ‘प्रतिगमन’को संज्ञा दिँदै आन्दोलन, त्यसपछिको अन्तरिम सरकार र सो सरकारले सम्पन्न गरेको निर्वाचनमाथि कडा टिप्पणी गरेका छन्।
जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आइतबार काठमाडौँमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक अन्तरक्रिया कार्यक्रममा समेत उनको यही बोली अडिग रह्यो ।
ओलीले वैधानिक सरकारलाई असंवैधानिक रूपमा हटाएर अन्तरिम सरकार गठन गरिएको र त्यसपछि सम्पन्न निर्वाचन प्रतिगमनलाई संस्थागत गर्ने उद्देश्यले गरिएको दाबी गरे।
उनले आफ्नो नेतृत्वको सरकार जनताको असन्तुष्टिका कारण नभई योजनाबद्ध रूपमा बदनाम गरेर हटाइएको आरोप लगाए। भ्रष्टाचारका झुटा आरोप, सामाजिक सञ्जालमार्फत अफवाह, ‘मोबाइल फार्मिङ’ र अल्गोरिदमको दुरुपयोग गरेर एमालेविरुद्ध जनमत निर्माण गरिएको उनको भनाइ थियो।
“हामीले देश बर्बाद पारेका थिएनौँ। विकास र पूर्वाधार निर्माणलाई तीव्रता दिएका थियौँ। तर झुटा प्रचार र चरित्रहत्याका माध्यमबाट सरकार हटाइयो,” ओलीले भने।
उनले अन्तरिम सरकारले गराएको निर्वाचनलाई पनि प्रश्न उठाउँदै त्यसबेला सबै वामपन्थी, लोकतान्त्रिक र देशभक्त शक्तिलाई निर्वाचनको विरोध गर्न आग्रह गरेको स्मरण गरे। “यो निर्वाचन लोकतन्त्रका लागि होइन, प्रतिगमनलाई वैधानिकता दिनका लागि गरिएको थियो,” उनले दाबी गरे।
ओलीका अनुसार त्यसबेला आफ्नो चेतावनीलाई अन्य राजनीतिक शक्तिले गम्भीर रूपमा नलिँदा अन्ततः सबै दल एउटै राजनीतिक परिस्थितिमा पुगे।
यद्यपि, जेन्जी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले निर्वाचन सम्पन्न गरिसकेको छ। सोही निर्वाचनबाट बालेन्द्र साह नेतृत्वको सरकार झन्डै दुईतिहाइ बहुमतसहित गठन भएको तीन महिना पूरा भइसकेको छ।
एमालेले गत फागुन २१ मा सम्पन्न निर्वाचनमा अपेक्षाभन्दा कमजोर नतिजा व्यहोर्दा पनि ओलीले आफ्नो राजनीतिक निष्कर्षमा कुनै परिवर्तन नआएको संकेत दिएका छन्।
आन्दोलनको औचित्य स्वीकार्नुको सट्टा उनले त्यसलाई अझै पनि ‘प्रतिगमन’कै रूपमा चित्रण गर्दै पुरानै आरोप दोहोर्याएका हुन्।