पर्याप्त वर्षा नहुँदा धान रोपाइँ प्रभावित, अधिकांश खेत अझै धुलाम्मे
हाम्रा कुरा
प्रकाशित २०८३ असार १५ सोमबार
272
Shares
बाँके। यस वर्ष असार महिना बित्न लाग्दा पनि पर्याप्त वर्षा नहुँदा बाँकेका अधिकांश खेत धुलाम्मे बनेका छन्।
वर्षाको अभावले धान रोपाइँ प्रभावित भएको छ भने कतिपय स्थानमा बीउ राखिएका ब्याडसमेत चिराचिरा परेका छन्।
राप्तीसोनारी गाउँपालिका-७ फत्तेपुरका किसान धुमलिया थारूले विगतका वर्षमा असारमै यस्तो समस्या नदेखिएको बताउँदै यसपटक वर्षा नहुँदा खेती संकटमा परेको गुनासो गरे।
उनका अनुसार वैकल्पिक सिँचाइको सुविधा नहुँदा धान रोप्न कठिन भएको छ। आफ्नै १० कट्ठा जमिन भए पनि परिवार पाल्नका लागि करिब डेढ बिघा जमिन अधियामा लिएर धानखेती गर्दै आएका थारूले पर्याप्त वर्षा नभए उत्पादनमा ठूलो गिरावट आउने चिन्ता व्यक्त गरे।
“हरेक वर्ष अधियामा धान लगाएर करिब १० क्विन्टल उत्पादन हुन्थ्यो। यसपालि जति सकिन्छ त्यति रोप्ने तयारी छ, तर अहिलेसम्म पानी नै परेको छैन,” उनले भने।
सिक्टा सिँचाइ आयोजना र डिपबोरिङको सुविधा पुगेका केही क्षेत्रमा मात्र रोपाइँ सुरु भए पनि जिल्लाका अधिकांश खेत अझै सुख्खा छन्। विशेषगरी डुडुवा, नरैनापुर र राप्तीसोनारी गाउँपालिकाका दक्षिणी भेगमा खेत धुलाम्मे अवस्थामा रहेका छन्।
कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख विनोद घिमिरेले तत्काल आत्तिनुपर्ने अवस्था नरहेको बताउँदै भदौको पहिलो सातासम्म धान रोप्न सकिने जानकारी दिए।
उनले किसानले तयार पारेका ब्याडमा रहेको बीउ अझै रोपाइँका लागि उपयुक्त अवस्थामै रहेको र जिल्लाको उत्तरी क्षेत्रमा मात्र केही मात्रामा रोपाइँ भएको बताए।
“अब केही दिनमै वर्षा सुरु हुने अनुमान छ। त्यसपछि खेत तयारी गर्न केही समय लाग्ने भएकाले करिब एक सातापछि व्यापक रूपमा रोपाइँ सुरु हुने अपेक्षा गरेका छौँ,” घिमिरेले भने।
कृषि ज्ञान केन्द्र नेपालगञ्जका अनुसार जिल्लामा धान रोपाइँ हुने कुल ३३ हजार ७८० हेक्टर क्षेत्रफलमध्ये असार १२ गतेसम्म १६८.९ हेक्टर जमिनमा मात्र रोपाइँ भएको छ, जुन कुल क्षेत्रफलको ०.५ प्रतिशत मात्रै हो।
गत वर्ष भने जिल्लाको ३४ हजार ७११ हेक्टर रोपाइँयोग्य जमिनमध्ये तीन हजार ८१८ हेक्टर अर्थात् करिब ११ प्रतिशत क्षेत्रमा यस अवधिसम्म धान रोपाइँ सम्पन्न भएको थियो।
वर्षा नहुँदा कतिपय स्थानमा किसानले धानको ब्याडसमेत राख्न नपाएको कृषि ज्ञान केन्द्रले जनाएको छ। पर्याप्त वर्षा नआए आगामी दिनमा धान उत्पादनमा प्रत्यक्ष असर पर्ने चिन्ता किसानहरूले व्यक्त गरेका छन्। रासस