मानव अधिकार आयोगले कार्यक्षेत्र मिचेको रामकुमारी झाँक्रीको आरोप
हाम्रा कुरा
प्रकाशित २०८३ असार १२ शुक्रबार
265
Shares
काठमाडौँ । नेकपा (एमाले) की सांसद रामकुमारी झाँक्रीले गत वर्षको भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनसम्बन्धी घटनामा राष्ट्रिय मानव अधिकार आयोगले आफ्नो कार्यक्षेत्रबाहिर गएर सिफारिस गरेको भन्दै आपत्ति जनाएकी छन्। राष्ट्रिय सभाको शुक्रबारको बैठकमा बोल्दै उनले यस्तो आपत्ति जनाएकी हुन्।
सांसद झाँक्रीले अब मानव अधिकार आयोगको कार्यक्षेत्रको बारेमा गम्भीर बहस गर्नुपर्ने बेला आएको बताएकी छन्। उनले जेन–जी आन्दोलनको क्रममा भएको विध्वंशको निष्पक्ष छानबिनका लागि छुट्टै शक्तिशाली आयोग गठन गर्नुपर्नेमा जोड दिइन्। सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको अध्यक्षतामा उक्त आयोग गठन गरी सुनियोजित रूपमा देश जलाउने कार्यमा संलग्नहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने उनको माग छ।
बैठकमा बोल्दै उनले भदौ २३ र २४ गतेको घटना सुनियोजित हिसाबले पूर्वतयारी गरेर कसको निर्देशन र निर्णयमा चलाइयो तथा कसले फिल्डमा गएर देश जलाउने काम गर्यो भन्ने कुराको खोजी हुनुपर्ने बताइन्। यस्ता देश द्रोहीहरूलाई अब बन्ने न्यायिक आयोगले कारबाही गरी नेपालको स्वाभिमान माथि उठाउनुपर्ने र यसका लागि चुप लागेर बस्न नहुने उनले उल्लेख गरिन्।
वर्तमान सरकार मध्यम वर्ग र विदेशी दलालहरूको मात्र कुरा गरिरहेको आरोप लगाउँदै सांसद झाँक्रीले अब न्यून आय भएका र गरिबीको रेखामुनि रहेका समुदायहरू सरकारविरुद्ध खरो रूपमा उभिनुपर्ने समेत बताएकी छन्।