arrow

धौलीगङ्गा बाँधको ढोका खोलिँदै, सतर्कता अपनाउन प्रशासनको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार ११ बिहिबार
mahakali-river.jpg

काठमाडौँ । भारतको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध सफाइका लागि ढोका खोलिने भएपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले महाकाली नदी किनारका तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरूलाई पूर्वसतर्कता अपनाउन आग्रह गरेको छ।

प्रशासनले आज (असार ११ गते) एक सूचना जारी गर्दै शुक्रबार बिहान ६ बजेदेखि शनिबार साँझ ५ बजेसम्म बाँधको 'सिल्ट सफाइ' (बाँधमा जमेको बालुवा, माटो, हिलो र लेदो निकाल्ने कार्य) गरिने जानकारी दिएको हो। बाँध सफाइका क्रममा ढोका खोलिँदा महाकाली नदीमा पानीको बहाव अचानक बढ्न सक्ने भएकाले नदी आसपासका क्षेत्रमा विशेष सचेत रहन भनिएको छ।

भारतीय पक्ष (एनएचपिसी लिमिटेड, धौलीगङ्गा पावरस्टेसन, धारचुला) बाट बाँधको ढोका खोलिने विषयमा आधिकारिक पत्राचार भएपछि तोकिएको समयमा नदी किनारमा नजान र सतर्क रहन आग्रह गरिएको कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीले बताए।

यसअघि, जिल्ला प्रशासन कार्यालय दार्चुलाले पनि बुधबार नै सूचना जारी गरी आफ्नो क्षेत्रका तटीय बासिन्दालाई सतर्क रहन निर्देशन दिइसकेको छ। दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारीका अनुसार भारतीय पक्षको पूर्वसूचनाका आधारमा नदी आसपासका बस्तीहरूमा हुन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षा र सतर्कताका उपायहरू अपनाउन भनिएको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ