‘बालेन सरकारले हामीलाई बाँच्न दिएन' : दृष्टिविहीनहरू [तस्बिरहरू]
हाम्रा कुरा
प्रकाशित २०८३ असार १० बुधबार
291
Shares
काठमाडौँ । 'घाम पानी धुलो धुवाँ सहनु हाम्रो रहर होइन, बाध्यता हो, विकल्प नदिई सडकपेटी छोड्दैनौँ' भन्दै दृष्टिविहीन तथा न्यून दृष्टियुक्त व्यक्तिहरू धर्नामा बसेका छन् ।
उनीहरू निरन्तर धर्नामा बसिरहेका हुन् । सडक पेटीलाई कार्य क्षेत्र बनाउन बाध्य दृष्टिविहीन तथा न्यून दृष्टियुक्त व्यक्तिहरूको विभिन्न निकायहरूद्वारा गरिएको बलपूर्वक धरपकड र जबरजस्ती विरुद्ध उनीहरू माइतीघर मण्डलामा धर्ना बसिरहेका हुन् ।
सडकपेटीमा आश्रित दृष्टिविहिन व्यवसायीहरूलाई बलपूर्वक हटाउने र धरपकड गरिएको विरोधमा उनीहरूले आन्दोलन गरिरहेको बताएका छन् ।
उनीहरूले वर्तमान सरकारले सडकपेटीमा बसेर जीविकोपार्जन गर्न नदिएको भन्दै धर्ना दिएका हुन् । नगर प्रहरीले पटक-पटक धरपकड गर्ने, होल्डिङ सेन्टरमा लगेर केही समय राख्ने र पछि छोड्ने गरेको आरोप उनीहरूको छ ।
सडकपेटी केन्द्रित स्वरोजगारमूलक दृष्टिविहिन व्यवसायीहरूको समूहका संयोजक सुदीप ओलीले विकल्प बिना सडकबाट हटाइएकाले आन्दोलन गर्न बाध्य भएको बताए। उनले भने, ‘आज बालेन सरकारले हामीलाई बाँच्न दिएन । गाँस, बास, कपासको ग्यारेन्टी गरिदिएन । हामीले धुप बेच्ने, वेइङ मेसिन राख्ने, गीत गाउने र सहयोग लिएर जीविका चलाइरहेका थियौँ । तर नगर प्रहरीले दमन गर्ने, होल्डिङ सेन्टरमा लगेर थुन्ने काम भयो । त्यसैले हामी आन्दोलनमा आएका हौँ ।’
ओलीका अनुसार दृष्टिविहीनहरूले सरकारले या त वैकल्पिक रोजगारी दिनुपर्ने, या मासिक २० हजार रुपैयाँ बेरोजगार भत्ता उपलब्ध गराउनुपर्ने माग गरेका छन् ।
साथै, योग्यताका आधारमा रोजगारीको व्यवस्था गर्नुपर्ने पनि उनीहरूको माग छ ।
उनले राज्यले कुनै न कुनै रूपमा जीविकोपार्जनको सुनिश्चितता गर्नुपर्नेमा जोड दिँदै भने, ‘कतिपय साथीहरू पढेका छन्, कतिपय अपाङ्गता अनुसार काम गर्न सक्छन् । त्यसअनुसार रोजगारी दिनुपर्छ । नपढेकाहरूलाई भत्ता वा उपयुक्त कामको व्यवस्था हुनुपर्छ ।’
दृष्टिविहीनहरूले सरकारले वैकल्पिक व्यवस्था नगरेसम्म बिहान ९ बजेदेखि मध्यान्ह १२ बजेसम्म दैनिक धर्ना जारी राखिरहेका हुन् ।