अमेरिकाप्रति अष्ट्रेलियाली नागरिकको विश्वास न्यून : प्रतिवेदन
हाम्रा कुरा
प्रकाशित २०८३ असार १० बुधबार
359
Shares
काठमाडौँ । विश्वमञ्चमा जिम्मेवार ढङ्गले प्रस्तुत हुने मामिलामा महाशक्ति राष्ट्र अमेरिकाप्रति अष्ट्रेलियाली नागरिकको विश्वास ऐतिहासिक रूपमा न्यून बिन्दुमा पुगेको छ। सिड्नीस्थित स्वतन्त्र थिङ्क ट्याङ्क ‘लोवी इन्स्टिच्युट’ले सार्वजनिक गरेको २०औँ वार्षिक सर्वेक्षण प्रतिवेदनले यस्तो देखाएको हो।
प्रतिवेदनअनुसार सर्वेक्षणमा सहभागीमध्ये ३८ प्रतिशत अस्ट्रेलियालीले विश्वव्यापी मञ्चमा अमेरिकाको भूमिकाप्रति ‘रत्तीभर विश्वास नभएको’ प्रतिक्रिया दिएका छन्। त्यसैगरी, ३० प्रतिशत सहभागीले अमेरिकाप्रति ‘धेरै विश्वास नभएको’ बताएका छन्। लोवी इन्स्टिच्युटले विगत दुई दशकदेखि गर्दै आएको यस वार्षिक सर्वेक्षणको इतिहासमै अमेरिकाप्रतिको यो सबैभन्दा कमजोर र न्यून स्तरको विश्वास हो।
तथ्याङ्कअनुसार सन् २०२२ यता अमेरिकाप्रति अविश्वास गर्ने अस्ट्रेलियालीहरूको सङ्ख्यामा झन्डै दोब्बरले वृद्धि भएको छ। सन् २०२२ मा कुल ३५ प्रतिशत उत्तरदाताले मात्र अमेरिकाप्रति अविश्वास (रत्तीभर वा धेरै विश्वास नभएको) व्यक्त गरेकोमा हाल सो सङ्ख्या तीव्र रूपमा बढेर ६८ प्रतिशत पुगेको छ।
यसका साथै, अस्ट्रेलियाको सुरक्षाका लागि अमेरिकासँगको सैन्य वा रणनीतिक गठबन्धन‘अत्यन्त महत्त्वपूर्ण’ रहेको ठान्नेहरूको सङ्ख्यामा पनि ठुलो गिरावट आएको छ। सन् २०२२ मा ६० प्रतिशत अस्ट्रेलियालीले यस सैन्य गठबन्धनलाई उच्च प्राथमिकता दिएकोमा हाल यो सङ्ख्या ४२ प्रतिशतमा खुम्चिएको सर्वेक्षणले देखाएको छ। यसले विश्वव्यापी भू-राजनीतिमा अमेरिकाको फेरिँदो नीति र कार्यशैलीप्रति अस्ट्रेलियाली जनतामा असन्तुष्टि बढ्दै गएको सङ्केत गर्दछ।