काठमाडौँ । कञ्चनपुरमा पछिल्लो एक सातायता अत्यधिक गर्मी बढेपछि विद्यार्थीहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै स्थानीय तहहरूले विद्यालय बन्द गर्ने निर्णय गरेका छन्। जिल्लाको बेदकोट र भीमदत्त नगरपालिकाले छुट्टाछुट्टै सूचना जारी गर्दै विद्यालयहरूमा बिदा दिने घोषणा गरेका हुन्।
बेदकोट नगरपालिकाले मौसममा आएको प्रतिकूलताका कारण भोलि मङ्गलवारदेखि शुक्रवारसम्म चार दिनका लागि नगरभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरू बन्द गर्ने निर्णय गरेको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्टले अत्यधिक गर्मीमा विद्यार्थीहरूलाई विद्यालय आउन–जान र कक्षाकोठामा बस्न समस्या भएपछि अभिभावक र विद्यार्थीको स्वास्थ्य सुरक्षाका लागि यो कदम चालिएको जानकारी दिए।
यस्तै जिल्लाकै अर्को स्थानीय तह भीमदत्त नगरपालिकाले भने अत्यधिक गर्मी बढ्दै गएपछि सामुदायिक तथा संस्थागत विद्यालयहरूमा एकमुष्ट १२ दिन बिदा दिने निर्णय गरेको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेशबहादुर बमका अनुसार असार ८ गतेदेखि असार १९ गतेसम्म गर्मी र वर्षे बिदालाई एकै ठाउँमा मिलाएर विद्यालयहरूमा बिदा दिने निर्णय गरिएको हो।
कञ्चनपुरसहित पश्चिम तराईका जिल्लाहरूमा विगत केही दिनदेखि तापक्रम लगातार बढिरहेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले पनि तराईका जिल्लाहरूमा आगामी तीन दिनसम्म तातो हावा (लु) र तातो लहर चल्ने सम्भावना रहेकाले सर्वसाधारणलाई सतर्क रहन र गर्मीबाट बच्ने उपायहरू अपनाउन विशेष आग्रह गरेको छ।