रास्वपालाई लडाउने शक्ति अबको युगमा कोही पनि आउन सक्दैन : रवि लामिछाने [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ असार ७ आइतबार
264
Shares
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पुराना राजनीतिक दलहरूको खराब अनुभव र प्रवृत्तिबाट सिकेर पार्टीभित्र गुट-उपगुटको राजनीति पूर्ण रूपमा अन्त्य गर्नुपर्ने बताएका छन्।
चितवनको भरतपुरमा जारी रास्वपाको प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभापति लामिछानेले पार्टी एकताबद्ध भएर अघि बढेमा रास्वपालाई चुनौती दिने शक्ति कुनै पनि नरहने दाबी गरे।
उनले पार्टीभित्र त्याग र बलिदानलाई हेर्ने दृष्टिकोणमा समानता हुनुपर्नेमा जोड दिँदै कतिपय अवस्थामा अरूको त्यागलाई सहज रूपमा लिने तर आफूले त्याग गर्नुपर्दा कठिन मान्ने प्रवृत्तिप्रति सचेत रहन आग्रह गरे।
सभापति लामिछानेले यो महाधिवेशनलाई पार्टीभित्रका सानातिना असमझदारी, तिक्तता र मनमुटाव अन्त्य गर्ने ऐतिहासिक अवसरका रूपमा उपयोग गर्नुपर्ने धारणा राखे।
उनले भने, “यतिबेला हामीले गुट–उपगुटतिर नलागेर विगतका राजनीतिक दलका अनुभवहरूलाई हेरेर अगाडि बढ्ने हो भने रास्वपालाई लडाउने शक्ति अबको युगमा कोही पनि आउन सक्दैन। तर साथी हो, कहिलेकाहीँ के हुँदो रहेछ भने त्याग र बलिदान भनेको अरूले गर्यो भने खुसी मान्ने, आफूले गर्यो भने दुःख मान्ने कुरा हुने रहेछ। यसबाट सचेत रहनका लागि म अनुरोध गर्न चाहन्छु। यो ऐतिहासिक महाधिवेशनले हामीबिचमा रहेका वैमनस्यता भए त्यसलाई अन्त्य गर्ने बिन्दु बनोस् भन्ने म चाहना राख्न चाहन्छु।”
सभापति लामिछानेले महाधिवेशनपछि पार्टी अझ वैचारिक रूपमा स्पष्ट, संगठनात्मक रूपमा सुदृढ र भावनात्मक रूपमा एकताबद्ध भएर अघि बढ्ने विश्वास व्यक्त गरे।