रास्वपाभित्र गुट-उपगुट अन्त्य गरौँ, हामी एकजुट भए कसैले लडाउन सक्दैन: रवि लामिछाने
हाम्रा कुरा
प्रकाशित २०८३ असार ७ आइतबार
193
Shares
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पुराना राजनीतिक दलहरूको खराब अनुभव र नियतिबाट सिकेर आफ्नो पार्टीभित्र गुट-उपगुटको राजनीति पूर्ण रूपमा अन्त्य गर्नुपर्ने बताएका छन्। चितवनको भरतपुरमा जारी रास्वपाको पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
सभापति लामिछानेले यदि रास्वपा पूर्ण रूपमा एकताबद्ध भएर अगाडि बढेमा पार्टीलाई चुनौती दिने वा लडाउने कुनै पनि शक्ति अबको युगमा आउन नसक्ने दाबी गरे। पार्टीभित्र त्याग र बलिदानको विषयलाई लिएर नेता-कार्यकर्तामा असमान बुझाइ हुन सक्नेतर्फ संकेत गर्दै उनले त्यसप्रति सचेत रहन सबैलाई आग्रह गरे। कतिपय अवस्थामा अरूले गरेको त्यागलाई सहज रूपमा लिने तर आफूले त्याग गर्नुपर्दा कठिन महसुस गर्ने प्रवृत्ति देखिन थालेको भन्दै उनले संगठनमा निस्वार्थ भावना हुनुपर्नेमा जोड दिए।
उनले यस पहिलो महाधिवेशनलाई पार्टीभित्र रहेका सानातिना असमझदारी, तिक्तता र मनमुटावहरूलाई सधैँका लागि अन्त्य गर्ने महत्त्वपूर्ण प्रस्थानविन्दु बनाउनुपर्ने धारणा राखे।
उद्घाटन सत्रलाई सम्बोधन गर्दै सभापति लामिछानेले भने, "यतिबेला हामीले गुट-उपगुटतिर नलागेर विगतका राजनीतिक दलका अनुभवहरूलाई हेरेर अगाडि बढ्ने हो भने रास्वपालाई लडाउने शक्ति अबको युगमा कोही पनि आउन सक्दैन। तर साथी हो, कहिलेकाहीँ के हुँदो रहेछ भने त्याग र बलिदान भनेको अरूले गर्यो भने खुसी मान्ने, आफूले गर्यो भने दुःख मान्ने कुरा हुने रहेछ। यसबाट सचेत रहनका लागि म अनुरोध गर्न चाहन्छु। यो ऐतिहासिक महाधिवेशनले हामीबिचमा पनि केही वैमनस्यता रहेछन् भने त्यसलाई अन्त्य गर्ने बिन्दु बनोस् भन्ने म चाहना राख्न चाहन्छु।"
सभापति लामिछानेले ऐतिहासिक राष्ट्रिय महाधिवेशनको यस मञ्चबाट पार्टी अझ बढी वैचारिक रूपमा स्पष्ट, सांगठनिक रूपमा सुदृढ र भावनात्मक रूपमा एकताबद्ध भएर निस्किने पूर्ण विश्वास समेत व्यक्त गरे।