राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै बाबुराम भट्टराईले के भने ? [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ असार ७ आइतबार
151
Shares
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थापनाको छोटो अवधिमै प्राप्त गरेको अभूतपूर्व सफलतालाई नेपाली राजनीतिक इतिहासको एउटा नयाँ क्रान्तिको कडीका रूपमा व्याख्या गरेका छन्। चितवनको भरतपुरमा जारी रास्वपाको प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले नयाँ पुस्ता र नयाँ शक्तिलाई सत्य एवं न्यायको पक्षमा दृढतापूर्वक उभिन सुझाव दिए।
पूर्वप्रधानमन्त्री भट्टराईले रास्वपाले परम्परागत शैलीको आन्दोलन वा सङ्घर्ष गरेर नभई आधुनिक प्रविधि र विचार सम्प्रेषणका माध्यमबाट जनताको मन जितेर यो सफलता प्राप्त गरेको चर्चा गरे। आफ्नै पुस्ताका पुराना नेताहरूमा नयाँ शक्तिको उदयलाई लिएर अनेकौँ भ्रम र संशयहरू रहेको टिप्पणी गर्दै उनले ती भ्रमहरूलाई "कथा र कहानी" को सङ्ज्ञा दिए।
उद्घाटन सत्रलाई सम्बोधन गर्दै डा. भट्टराईले भने, "रास्वपाले यो ४ वर्षभित्र जुन उपलब्धि हासिल गर्यो, आन्दोलन गरेर, सङ्घर्ष गरेर भन्दा पनि जनताको मन जितेर, आधुनिक प्रविधिमार्फत आफ्नो विचार सम्प्रेषण गरेर जसरी यो ऐतिहासिक सफलता हासिल गर्नुभएको छ; यसलाई नेपाली इतिहासको एउटा नयाँ क्रान्तिको कडीको रूपमा लिनुपर्दछ भन्ने मेरो मान्यता छ। मेरो पुस्ताका साथीहरूलाई ठुलो भ्रम छ— उहाँहरू यो दक्षिणले गरायो, उत्तरले गरायो, पश्चिमले गरायो भन्ने कथा बुनिराख्नुभएको छ। तर मेरो स्पष्ट धारणा के छ भने, सत्य र न्यायको पक्षमा तपाईँहरू उभिनुपर्दछ।"
लामो समयदेखि देशमा नयाँ वैकल्पिक राजनीतिक शक्तिको वकालत र पैरवी गर्दै आएका डा. भट्टराईले रास्वपाको आगमनलाई सोही अभियानकै सबैभन्दा महत्त्वपूर्ण उपलब्धिका रूपमा स्वीकार गरेको बताए। उनले भने, "म आफैँले नयाँ राजनीतिक शक्ति भन्दै वैकल्पिक राजनीतिक शक्तिको पैरवी गरेँ। म अहिले रास्वपालाई त्यही अभियानकै सबैभन्दा महत्त्वपूर्ण उपलब्धिको रूपमा ग्रहण गरेको छु। सुशासन र समृद्धिको फल सबै नेपालीहरूलाई प्राप्त होस्।"
उनले रास्वपालाई राष्ट्रियता, सुशासन र समृद्धिको एजेन्डामा अविचलित भई देश र जनताको बृहत्तर हितमा काम गर्न प्रेरणा र शुभकामना समेत दिए।