बालेनले राजा ल्याउँछन् भनेर जनताले रास्वपालाई भोट दिए [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ असार ७ आइतबार
250
Shares
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालमा ‘राजा चाहिन्छ’ भन्ने जनताको चाहनालाई सम्बोधन गर्नुपर्ने ठुलो जिम्मेवारी प्रधानमन्त्री वालेन्द्र साह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को काँधमा रहेको जिकिर गरेका छन्। चितवनको भरतपुरस्थित गेष्टहाउस चौरमा जारी रास्वपाको प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो रोचक दाबी गरेका हुन्।
अध्यक्ष लिङ्देनले निर्वाचनको परिणामलाई विश्लेषण गर्दै नेपालमा राजसंस्था पुनःस्थापनाको वकालत गर्ने पार्टी राप्रपा भए पनि धेरै जनताले "बालेन साहले राजा ल्याउँछन्" भन्ने विश्वासका साथ राप्रपालाई छोडेर रास्वपालाई मतदान गरेको बताए। जनताको यो विशिष्ट चाहना र मतको भावनालाई सम्बोधन गर्ने जिम्मेवारी अब वर्तमान सरकार र रास्वपा नेतृत्वको भएको उनको भनाइ थियो।
रास्वपाले देश बनाउन र जनअपेक्षा पूरा गर्न पाएको यो ऐतिहासिक अवसरलाई गुमाएमा त्यो आफ्नै दलका लागि मात्र नभई सिङ्गो मुलुकका लागिसमेत ठुलो धोका हुने चेतावनी उनले दिए।
उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले भने, "यो अवसर गुमाउनुभयो भने धोका तपाईँको पार्टी र नेतृत्वलाई मात्रै हुने छैन, सिङ्गो देशलाई हुनेछ। त्यसकारण मेरो आग्रह छ— यो मौका पारेर यो जिम्मेवारी सफलतापूर्वक पूरा गर्न सक्नुहोस्। यो पटकको मतपरिणाम हेर्दा कुन राजनीतिक दर्शन वा सङ्गठनले काम गर्यो? यो एउटा यस्तो चुनाव भयो, जहाँ राजनीतिक दलको सङ्गठन र पैसाले काम गरेन। आज झन्डै दुई तिहाइ मत ल्याउने राजनीतिक दल (रास्वपा) ले अहिले पनि ७७ वटै जिल्लामा अधिवेशन सम्पन्न गरेको छैन, सबै वडा र गाउँपालिकामा सङ्गठन बनाइसकेको छैन। तर जनताले उसलाई झन्डै दुई तिहाइ बहुमत दिए। आज जनता राजनीतिक दल र सङ्गठनभन्दा एक कदम अगाडि सरेर निर्णय गर्न अग्रसर भएका छन्। यो जनताको विश्वासलाई निराशामा परिणत हुन नदिनुहोस्।"
प्रधानमन्त्री बालेन साह र रास्वपा सभापति रवि लामिछानेतर्फ लक्षित गर्दै उनले अगाडि भने, "अघि सीके राउतजीले यो जनमतमा मेरो पार्टीको पनि भोट छ भन्नुभयो। प्रधानमन्त्रीजीलाई थाहा छ होला, सभापतिजीलाई थाहा छ होला— नेपालमा राजा चाहिन्छ भन्नेहरूको पनि भोट छ तपाईँहरूलाई। नेपालमा राजा चाहिन्छ भन्ने पार्टी राप्रपा हो। तर राप्रपालाई भोट नदिएर 'बालेनले राजा ल्याउँछ' भनेर तपाईँलाई भोट दिएका मान्छे छन्। तपाईँहरूले जनताको त्यो विशिष्ट चाहनालाई सम्बोधन गर्नुपर्नेछ। त्यसकारण तपाईँहरूको विशिष्ट जिम्मेवारी छ।"
अध्यक्ष लिङ्देनले रास्वपाको अप्रत्याशित र अभूतपूर्व विजय परम्परागत राजनीतिक सङ्गठनको बलमा नभई जनताको परिवर्तनप्रतिको तीव्र चाहनाको परिणाम भएको उल्लेख गर्दै सो जनमतको कदर गर्न आग्रह गरे।