संविधान अपुरो र त्रुटिपूर्ण छ, सच्याउने जिम्मेवारी रास्वपाको काँधमाः उपेन्द्र यादव
हाम्रा कुरा
प्रकाशित २०८३ असार ७ आइतबार
253
Shares
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान संविधानमा रहेका त्रुटि, विरोधाभास र अपूर्णताहरू सच्याउँदै यसलाई थप समावेशी, न्यायपूर्ण र समृद्ध बनाउने ऐतिहासिक जिम्मेवारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को काँधमा आएको बताएका छन्। चितवनको भरतपुरमा जारी रास्वपाको पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो विचार व्यक्त गरेका हुन्।
अध्यक्ष यादवले नेपाली जनता र मुलुक अझै पनि वास्तविक सुशासन, समृद्धि, सामाजिक न्याय र समानताको खोजीमा रहेको औँल्याए। विगतमा संविधानसभाबाट जारी गरिएको संविधानले सङ्घीयता, गणतन्त्र, समावेशिता र धर्मनिरपेक्षता जस्ता महत्त्वपूर्ण उपलब्धिहरू संस्थागत गरे पनि ती अझै पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको र आफैँभित्र विरोधाभासपूर्ण रहेको उनको टिप्पणी थियो। सयौँ वर्षदेखि विभेदमा पारिएका विभिन्न जातजाति, भाषाभाषी र सांस्कृतिक समूहहरूको हकअधिकार सुनिश्चित गर्न संविधानको परिमार्जन र संशोधन अपरिहार्य रहेको उनले स्पष्ट पारे।
संविधान संशोधनमार्फत विद्यमान विकृति र विसङ्गतिहरू हटाई देशको राजनीतिक तथा सामाजिक रूपान्तरणलाई नयाँ उचाइमा पुर्याउनुपर्ने आवश्यकता औँल्याउँदै अध्यक्ष यादवले समावेशी लोकतन्त्रको सुदृढीकरणका लागि रास्वपाले अग्रसरता लिनुपर्नेमा जोड दिए।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष यादवले भने, "मुलुकले अहिले सुशासन, समृद्धि र सामाजिक न्याय खोजिरहेको छ। मुलुक अहिले सयौँ वर्षदेखि विभेदमा परेका र पारिएका विभिन्न भेषभूषा र जातजातिका मानिसहरूले समानताको हक र अधिकार चाहिरहेको अवस्था छ। विगतमा संविधानसभाबाट घोषणा गरिएको संविधान त्रुटिपूर्ण, अधुरो र अपुरो रहेको छ, यसमा आफैँभित्र विरोधाभास छ। निश्चित रूपमा यसमा सङ्घीयता, गणतन्त्र, समावेशिता र धर्मनिरपेक्षता जस्ता महत्त्वपूर्ण पक्षहरू भए पनि ती धेरै कुराहरू अपूर्ण रूपमा रहेका छन्। त्यसैले अहिलेको आवश्यकता संविधानलाई संशोधन र परिमार्जन गरी यसका विकृति र विसङ्गतिलाई हटाएर संविधानलाई समृद्ध बनाउनुपर्ने हो, र यो ऐतिहासिक जिम्मेवारी यहाँहरू (रास्वपा) माथि आइपुगेको छ।"
अध्यक्ष यादवले नयाँ उदाउँदो शक्तिका रूपमा रास्वपाले यी मुद्दाहरूलाई आत्मसात् गर्दै मुलुकलाई समृद्धिको दिशामा अगाडि बढाउने विश्वास व्यक्त गरे। सम्बोधनको अन्त्यमा उनले रास्वपाको ऐतिहासिक महाधिवेशन पूर्ण सफलताको कामना गर्दै सम्पूर्ण रास्वपा परिवारलाई बधाई तथा शुभकामना समेत दिए।