राप्रपालाई होइन, बालेनले राजा ल्याउँछ भनेर तपाईंहरूलाई मत दिएका छन् : लिङ्देन
हाम्रा कुरा
प्रकाशित २०८३ असार ७ आइतबार
169
Shares
चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्राप्त गरेको जनमतमा राजसंस्थाप्रति सकारात्मक धारणा राख्ने मतदाताको समर्थन पनि रहेको बताएका छन् ।
चितवनको भरतपुरमा शुरू भएको रास्वपाको प्रथम महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले नेपालमा राजसंस्था पुनःस्थापनाको पक्षमा रहेका मतदाताको ठूलो हिस्सा रहेको दाबी गरे ।
उनले राप्रपा राजसंस्थाको पक्षमा स्पष्ट रूपमा उभिएको पार्टी भए पनि केही मतदाताले काठमाडौँ महानगरपालिकाका प्रमुख वालेन्द्र साहले राजसंस्था पुनःस्थापनामा भूमिका खेल्न सक्ने अपेक्षासहित रास्वपालाई मत दिएको टिप्पणी गरे ।
लिङ्देनले भने, “नेपालमा राजा चाहिन्छ भन्ने मत पनि छ । नेपालमा राजा चाहिन्छ भन्ने पार्टी राप्रपा हो । तर राप्रपालाई होइन, बालेनले राजा ल्याउँछ भनेर तपाईंहरूलाई मत दिएका छन् ।”
उनले मुलुकका समस्या केवल नेताहरूका कारण मात्रै नभई संविधान र राज्य संरचनासँग पनि जोडिएको दाबी गरे । वर्तमान राजनीतिक व्यवस्था, संविधान र संरचनामाथि पुनर्विचार आवश्यक रहेको उनको भनाइ थियो ।
रास्वपाको महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले पार्टीको सफलताको शुभकामना व्यक्त गर्दै मुलुकको राजनीतिक रूपान्तरणका लागि सबै राजनीतिक शक्तिबीच सहकार्य आवश्यक रहेको बताए ।