काठमाडौँ । घरेलु टोली मेक्सिको जारी फिफा विश्वकप फुटबल २०२६ को नकआउट चरण (अन्तिम ३२) मा प्रवेश गर्ने पहिलो टोली बनेको छ। समूह ‘ए’ अन्तर्गत इस्तादियो ग्वादालाहारा रंगशालामा आज भएको आफ्नो दोस्रो खेलमा दक्षिण कोरियालाई १–० गोलअन्तरले पराजित गर्दै मेक्सिकोले अघिल्लो चरणमा स्थान सुरक्षित गरेको हो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा मेक्सिकोले निर्णायक अग्रता लियो। खेलको ५०औँ मिनेटमा लुइस रोमोले गरेको उत्कृष्ट गोल नै मेक्सिकोका लागि जितको मुख्य आधार बन्यो र उनी खेलको नायक साबित भए।
यस सानदार जितसँगै समूह ‘ए’ मा रहेको मेक्सिकोले लगातार दुई खेल जित्दै स्पष्ट ६ अङ्कका साथ तालिकाको शीर्ष स्थान कब्जा गरेको छ। मेक्सिकोले आफ्नो उद्घाटन खेलमा दक्षिण अफ्रिकालाई पाखा लगाएको थियो।
मेक्सिकोसँग स्तब्ध बने पनि दक्षिण कोरियाको नकआउट चरण पुग्ने सम्भावना अझै जीवितै छ। आफ्नो पहिलो खेलमा चेक रिपब्लिकलाई हराएको कोरियाको २ खेलबाट ३ अङ्क छ। यसै समूहमा रहेका चेक रिपब्लिक र दक्षिण अफ्रिकाको समान १/१ अङ्क रहेकाले यस समूहबाट अघिल्लो चरण पुग्ने दोस्रो टोलीको टुङ्गो लाग्न बाँकी खेलहरू निर्णायक हुनेछन्।
नयाँ स्वरूप अनुसार ४८ राष्ट्रहरूले सहभागिता जनाएको यस विश्वकपमा प्रत्येक समूहका शीर्ष दुई टोली र तेस्रो स्थान हासिल गर्ने टोलीहरूमध्येबाट उत्कृष्ट आठ टोली गरी कुल ३२ राष्ट्रले नकआउट चरणको यात्रा तय गर्नेछन्।