झापामा दुर्घटनाः आठको मृत्यु, चालककै गल्ती मुख्य कारण
हाम्रा कुरा
प्रकाशित २०८३ असार ४ बिहिबार
229
Shares
झापा । झापामा पछिल्लो समय बढिरहेका सडक दुर्घटनाको मुख्य कारण सडकको जीर्ण अवस्था वा सवारी साधनको प्राविधिक समस्या नभई चालकको लापर्वाही रहेको तथ्याङ्कले देखाएको छ।
जिल्ला प्रहरी कार्यालय झापाको पछिल्लो विवरणले सडक सुरक्षाको चुनौती पूर्वाधारभन्दा पनि सवारी चलाउने संस्कारसँग जोडिएको संकेत गरेको छ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार जेठ महिनाको समीक्षा अवधिमा जिल्लाभर १७४ ओटा सवारी दुर्घटना भएका छन्।
तीमध्ये १५४ ओटा दुर्घटना चालकको लापर्वाहीका कारण भएको पाइएको छ। यसको तुलनामा सडकको खराब अवस्थाका कारण पाँच ओटा र सवारीसाधनको यान्त्रिक गडबडीका कारण तीन ओटा मात्र दुर्घटना भएका छन्।
प्रहरीका अनुसार यात्रुको गल्तीका कारण आठ ओटा, छाडा चौपायाका कारण एउटा तथा अन्य विभिन्न कारणले तीन ओटा दुर्घटना भएका छन्।
तथ्याङ्कले कुल दुर्घटनामध्ये अत्यधिक हिस्सा मानवीय त्रुटिले ओगटेको देखाउँछ, जसले सडक सुरक्षामा चालकको जिम्मेवारी र अनुशासनलाई सबैभन्दा ठूलो चुनौतीका रूपमा उभ्याएको छ।
जेठ महिनाभर भएका दुर्घटनामा परी आठ जनाले ज्यान गुमाएका छन् भने २८६ जना घाइते भएका छन्।
दुर्घटनाको संख्या र त्यसबाट भएको मानवीय क्षतिले झापाको सडक सुरक्षा अवस्था अझै चिन्ताजनक रहेको संकेत गर्छ।
दुर्घटना नियन्त्रणका लागि झापा प्रहरी र ट्राफिक प्रहरीले संयुक्त रूपमा सवारी जाँच अभियानलाई तीव्र बनाएका छन्।
साथै ट्राफिक नियम उल्लङ्घन गर्ने दुई हजार ७३३ ओटा सवारीसाधनलाई कारबाही गर्दा २८ लाख ३३ हजार ९१ रुपैयाँ राजस्व सङ्कलन भएको प्रहरीले जनाएको छ।
प्रहरीको तथ्याङ्कले सडक चौडा बनाउने वा नयाँ पूर्वाधार निर्माण गर्ने मात्र होइन, चालकमा ट्राफिक सचेतना, गति नियन्त्रण, मदिरा सेवनपछि सवारी चलाउने प्रवृत्तिको अन्त्य र नियमको कडाइका साथ कार्यान्वयन नगरेसम्म दुर्घटना न्यूनीकरण गर्न कठिन हुने सन्देश दिएको छ।
झापाको पछिल्लो अवस्थाले सडक दुर्घटनाको प्रमुख शत्रु सडकभन्दा पनि चालकको असावधानी र लापर्वाही बन्दै गएको स्पष्ट पारेको छ। रासस