रामपुर कृषि विश्वविद्यालयको १६ वर्षे यात्रा: पाँच हजार ९०६ विद्यार्थी उत्पादन
कृषि-वन शिक्षा क्षेत्रमा उल्लेख्य विस्तार
हाम्रा कुरा
प्रकाशित २०८३ असार ३ बुधबार
239
Shares
चितवन। कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुरले स्थापना भएको १६ वर्षको अवधिमा पाँच हजार ९०६ विद्यार्थी उत्पादन गरेको छ।
विश्वविद्यालयले आफ्नो स्थापना दिवसको अवसरमा सार्वजनिक गरेको तथ्याङ्कअनुसार कृषि, पशु, मत्स्य र वन विज्ञानका विभिन्न तहमा उल्लेख्य संख्यामा विद्यार्थी उत्तीर्ण भएका छन्।
वि.सं. २०६७ असार ३ गते स्थापना भएको उक्त विश्वविद्यालयले देशको कृषि तथा वन विज्ञान शिक्षामा महत्वपूर्ण भूमिका खेल्दै आएको छ।
स्थापना कालदेखि नै स्नातकदेखि विद्यावारिधिसम्मका कार्यक्रम सञ्चालन गर्दै आएको विश्वविद्यालयले दक्ष जनशक्ति उत्पादनलाई आफ्नो मुख्य उपलब्धि मानेको छ।
विश्वविद्यालयका रजिष्ट्रार प्राडा सुविरसिंहका अनुसार सबैभन्दा धेरै विद्यार्थी कृषि स्नातक तहमा तीन हजार १४ जना उत्तीर्ण भएका छन्। कृषि स्नातकोत्तरमा ८८८ र कृषि विद्यावारिधिमा ५४ जनाले उपाधि हासिल गरेका छन्।
यसैगरी पशुचिकित्सा तथा पशुपालन स्नातकमा ३८८, पशुचिकित्सा स्नातकोत्तरमा २०१, पशुविज्ञान स्नातकोत्तरमा १११ तथा पशुचिकित्सा र पशुविज्ञान विद्यावारिधिमा १० जना विद्यार्थी उत्तीर्ण भएका छन्।
मत्स्यविज्ञानतर्फ स्नातक ११३, स्नातकोत्तर ५० र विद्यावारिधि चार जना विद्यार्थी उत्तीर्ण भएका छन्।
वनविज्ञानतर्फ स्नातक ८९३, स्नातकोत्तर १७६ र विद्यावारिधि चार जनाले उपाधि हासिल गरेका छन्।
समग्रमा तीनै संकायअन्तर्गत स्नातक तहमा चार हजार ४०८, स्नातकोत्तरमा एक हजार ४२६ र विद्यावारिधिमा ७२ जना विद्यार्थी उत्तीर्ण भएका छन्। विश्वविद्यालयका अनुसार उत्तीर्ण विद्यार्थीमध्ये अधिकांश स्वदेशी भए पनि केही विदेशी विद्यार्थीसमेत समावेश छन्।
विश्वविद्यालयको यो उपलब्धिलाई कृषि र वन क्षेत्रका लागि दक्ष जनशक्ति उत्पादनको महत्वपूर्ण आधारका रूपमा लिइएको छ। शिक्षा विस्तारसँगै अनुसन्धान र व्यावहारिक ज्ञानलाई अझ सुदृढ बनाउने चुनौती भने अझै कायम रहेको सरोकारवालाहरूको भनाइ छ।