झापा । झापाको गौरादहमा टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष राईका अनुसार गौरादह नगरपालिका-१ स्थित पाडाजुङ्गी-गौरीगन्ज भित्री सडकखण्डअन्तर्गत नवदुर्गा पेट्रोलपम्प अगाडि गए राति दुर्घटना भएको हो ।
डिपु चोकबाट पेट्रोलपम्पतर्फ गइरहेको प्रदेश १-०१-००१क ११८८ नम्बरको टिपरले साइकलयात्री गौरादह-४ निवासी ६१ वर्षीय प्रेमप्रसाद गुरागाईँलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका गुरागाईँलाई उपचारका लागि दमक अस्पताल पुर्याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
दुर्घटनामा संलग्न टिपर चालक गौरादह नगरपालिका-१ निवासी ३५ वर्षीय उमेश ताजपुरियालाई प्रहरीले नियन्त्रणमा लिएको ट्राफिक प्रहरीले जनाएको छ ।