दुई दिने बिदाले जुर्मुरायो सौराहा, अफसिजनमा पनि पर्यटकले भरिभराउ
हाम्रा कुरा
प्रकाशित २०८३ असार २ मंगलबार
254
Shares
चितवन । शनिबार र आइतबार सार्वजनिक बिदाको व्यवस्था कार्यान्वयनमा आएपछि नेपालको आन्तरिक पर्यटनले नयाँ गति लिन थालेको छ। गर्मीका कारण सामान्यतया ‘अफसिजन’ मानिने समयमा पनि चितवनको सौराहा आन्तरिक पर्यटकले भरिभराउ हुन थालेको छ।
दुई दिने बिदाको अवसर पारेर घुम्न निस्कनेहरूको संख्या बढेसँगै सौराहाका होटल, रिसोर्ट र रेष्टुराँमा चहलपहल बढेको छ। जङ्गल सफारीका लागि जिप चढ्ने स्थानदेखि हात्ती सफारीसम्म पर्यटकको भीड लाग्न थालेको पर्यटन व्यवसायीहरू बताउँछन्।
वरिष्ठ पर्यटन व्यवसायी तथा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष दीपेन्द्र खतिवडाका अनुसार सरकारले लागू गरेको दुई दिने बिदाले पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पारेको छ। उनका अनुसार गर्मीका कारण पहिले पर्यटकको चाप कम हुने समय अहिले आन्तरिक पर्यटकका कारण व्यस्त हुन थालेको छ।
‘चितवनमा यो समय गर्मी बढी हुने भएकाले पर्यटकीय याम मानिँदैन थियो,’ उनले भने, ‘तर दुई दिने बिदालाई सदुपयोग गर्दै आन्तरिक पर्यटक घुमफिरका लागि आउन थालेका छन्।’
उनका अनुसार यसअघि लगातार चार दिन बिदा हुँदा एउटै समूहले सौराहा, लुम्बिनी र पोखरासम्मको भ्रमण गरेको अनुभवसमेत रहेको छ।
पर्यटकको सुविधालाई लक्षित गर्दै हाल ३० वटा हात्ती सफारीमा प्रयोग भइरहेको सहकारीले जनाएको छ।
बिहान, दिउँसो र बेलुकाको समय मिलाएर सञ्चालन हुने हात्ती सफारीका लागि आन्तरिक पर्यटकले प्रतिव्यक्ति एक हजार ६५० रुपैयाँ तिर्नुपर्ने व्यवस्था छ।
पर्यटन व्यवसायी आशिष रेग्मीका अनुसार कोभिड-१९ पछि हात्तीको किनबेच नभए पनि पुरानै हात्तीमार्फत सफारी सेवा सञ्चालन हुँदै आएको छ। एउटा हात्तीको पालनपोषणमा दुई जना कर्मचारीसहित मासिक एक लाख रुपैयाँभन्दा बढी खर्च हुने उनको भनाइ छ।
चितवन राष्ट्रिय निकुञ्ज वन्यजन्तु अवलोकन, चरा पर्यटन, जिप सफारी, हात्ती सयर, राप्ती नदीमा डुङ्गा सयर, गोही तथा गैँडा अवलोकन र सूर्यास्त दृश्यका लागि पर्यटकको रोजाइमा पर्दै आएको छ। स्थानीय थारु संस्कृति र परिकार पनि यहाँका प्रमुख आकर्षण बनेका छन्।
टिफिन होम एण्ड रेष्टुराँकी सञ्चालक स्वस्तीका भट्टका अनुसार पछिल्ला वर्षमा चितवनमा पर्यटक आउने निश्चित यामको अवधारणा नै परिवर्तन हुन थालेको छ। ‘अहिले जुनसुकै महिनामा पनि पर्यटक आउने क्रम बढेको छ,’ उनले भनिन्।
पर्यटन व्यवसायीहरूको अनुभवमा हप्तामा दुई दिन सार्वजनिक बिदाको व्यवस्थाले आन्तरिक पर्यटनलाई नयाँ ऊर्जा दिएको छ।
पहिले बिदा नभएर छोटो यात्रा गर्न नसक्नेहरू अहिले परिवार र साथीभाइसँग सौराहाजस्ता गन्तव्य रोज्न थालेका छन्। यसले पर्यटन क्षेत्रलाई ‘सिजन’ र ‘अफसिजन’को सीमाभन्दा बाहिर निकाल्दै स्थानीय अर्थतन्त्रलाई समेत चलायमान बनाउन थालेको व्यवसायीहरूको भनाइ छ।