विश्वकपमा उपाधि दावेदार फ्रान्स र सेनेगल भिड्दै, एम्बाप्पेलाई इतिहास रच्ने मौका
हाम्रा कुरा
प्रकाशित २०८३ असार २ मंगलबार
790
Shares
तस्बिर : केलियन एम्बाप्पे ।
काठमाडौँ । विश्वकप फुटबल अन्तर्गत आज राति एउटामात्र खेल हुँदैछ । समूह आईको खेलमा आज फ्रान्स र सेनेगल भिड्दै छन् ।
दुवैले एकअर्कासँग प्रतिस्पर्धा गरिरहँदा २४ वर्षअघिको त्यो भिडन्त सम्झनै पर्ने हुन्छ । जतिबेला उपाधि रक्षा अभियानमा रहेको फ्रान्सलाई उद्घाटन खेलमा सेनेगलले १–० ले स्तब्ध पारेको थियो ।
स्पेनसँगै यसपालि उपाधिको प्रबल दाबेदारका रुपमा हेरिएको फ्रान्स आफ्नो मुख्य प्रशिक्षक डिडियर डेस्च्याम्पलाई राम्रो फेयरवेल दिन चाहन्छ ।
डेस्च्याम्प अर्थात् खेलाडी र मुख्य प्रशिक्षक दुबै भूमिकामा विश्वकप चुम्ने एकमात्र जीवित व्यक्ति ।
डेस्च्याम्पले विश्वकपपछि आफ्नो ‘हटसिट’ अर्का पूर्व कप्तान जिनेदिन जिदानलाई छाड्दैछन् । त्यसैले अमेरिका विश्वकपमा उनीसँग सर्वकालीन महान प्रशिक्षक बन्ने अवसर हुनेछ ।
अमेरिकामा एक त डेस्च्याम्पलाई दोस्रो विश्वकप चुम्ने अवसर छ । अर्को उनले सबैभन्दा धेरै विश्वकप खेल जित्ने प्रशिक्षक बन्ने मौका पनि छ ।
यदि फ्रान्सले समूह चरणका तीनवटै खेलमा विजयी हासिल गर्ने हो भने डेस्च्याम्पले जर्मन प्रशिक्षक हेल्मुट शोनको १६ खेलको कीर्तिमानलाई भंग गर्नेछन् ।
छनोट प्रतियोगितामा फ्रान्सले मात्र दुई अंक गुमाएको थियो । फ्रान्सको यो लगातार आठौं विश्वकप सहभागिता हो ।
पछिल्ला सातमध्ये चार संस्करणमा टोलीले फाइनल खेलेको छ । २१औं शताब्दीकै सबैभन्दा धेरै विश्वकप फाइनल खेल्ने टोली हो फ्रान्स ।
विश्वकपअघिको मैत्रीपूर्ण खेलमा आइभोरी कोस्टसँग २–१ को पराजय बेहोरेपछि स्टार खेलाडीले भरिएको फ्रान्समाथि प्रश्न उठ्न शुरू भएको थियो ।
अमेरिका प्रस्थान गर्नुअघि फ्रान्सले नर्दन आयरल्यान्डमाथि ३–१ को जित हासिल गर्दै आफूहरु यसपालि पनि विश्वकप जित्न तयार रहेको सन्देश दिएको थियो ।
सेनेगलले पनि छनोट प्रतियोगितामा एक खेल पनि हारेन । अमेरिका विश्वकप सेनेगलको लगातार तेस्रो अनुभव हो । सन् २०२२ मा टोलीले अन्तिम १६ सम्मको यात्रा गरेको थियो । सन् २०१८ मा भने टोली समूह चरणबाटै बाहिरिएको थियो ।
दि लायन्स अफ टेरंगाका रुपमा परिचित सेनगेल अफ्रिकन कप अफ नेसन्स २०२१ को च्याम्पियन हो ।
अहिले त टोली अफ्रिकाकै सबैभन्दा बलियो टोलीमध्ये एक हो । टोलीले विश्वकपअघि पेरु र गाम्बियालाई हराउँदा अमेरिकासँग ३–२ ले पराजय बहोर्यो ।
अन्तिम वार्म अप खेलमा सेनेगलले साउदी अरेबियासँग गोलरहित बराबरी खेल्यो ।
साउदी विरुद्ध सेनेगलले १७ खेलपछि पहिलोपटक बललाई जाली चुमाउन नसकेको हो ।
यद्यपि पछिल्ला सातमध्ये पाँच खेलमा सेनेगलले जित हासिल गरेको थियो ।
मुख्य प्रशिक्षक पेप थियाह २४ वर्षअघि सेनेगलले फ्रान्सलाई हराउँदाका सदस्य थिए । तर, त्यतिबेला उनले प्लेइङ मिनेट्स भने पाएका थिएनन् ।
फ्रान्सका रक्षक विलियम सालिबा ढाडको चोटबाट मुक्त हुँदै पूर्ण प्रशिक्षणमा फर्किसकेका छन् ।
युल्स कुन्डे पनि ‘माइनर’ मांशपेशी समस्याका बावजुद फिट देखिएका छन् ।
गोलकिपर माइक मैगननले पनि प्रशिक्षकण सत्रको एक दिन गुमाएका थिए । अहिले उनी पनि पूर्ण रुपमा फिट रहेको बताइएको छ ।
स्टार खेलाडी तथा कप्तान केलियन एम्बाप्पेले राष्ट्रिय टोलीबाट ५६ गोल गरेका छन् । दुई गोलपछि उनले अहिलेका उच्च गोलकर्ता ओलिभर जिरूलाई उछिन्ने छन् ।
एम्बाप्पेले कतार विश्वकपको फाइनलमा आफ्नो जादू देखाइसकेका छन् । यसपालि पनि उनले त्यो लयलाई समात्दै उपाधि नै चुम्ने अपेक्षा गरिएको छ ।
सेनेगलको हकमा स्टार फरवार्ड साडियो माने पूर्ण रुपमा फिट छन् । मानेले इन्जुरीका कारण कतार विश्वकप गुमाएका थिए ।
असाने डियाओ, चेरिफ एनडियाये र इद्रिसा गुएयेलाई सामान्य फिटनेस समस्याहरु छन् । तर, उनीहरु खेलका लागि उपलब्ध हुने अपेक्षा गरिएको छ ।
समूह ‘आई’को अर्को खेलमा बुधबार बिहान नर्वे र इराक भिड्ने छन् ।