गण्डकीको बजेट ३२ अर्ब ९९ करोड, विकास खर्चलाई प्राथमिकता [पूर्णपाठ]
दुई अर्ब रुपैयाँ नगद मौज्दात रहने अपेक्षा
हाम्रा कुरा
प्रकाशित २०८३ असार १ सोमबार
241
Shares
पोखरा। गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३२ अर्ब ९९ करोड ९९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
आर्थिक मामिला मन्त्री जीतबहादुर शेरचनले प्रदेश सभामा प्रस्तुत गरेको बजेटमा विकास खर्चलाई प्राथमिकतामा राख्दै कुल बजेटको ६० प्रतिशतभन्दा बढी रकम पूँजीगततर्फ विनियोजन गरिएको छ ।
कुल बजेटमध्ये पूँजीगत खर्चका लागि २० अर्ब दुई करोड ६१ लाख २२ हजार रुपैयाँ छुट्याइएको छ, जुन कुल विनियोजनको ६०.६८ प्रतिशत हो ।
चालू खर्चतर्फ १२ अर्ब ७२ करोड ३७ लाख ७८ हजार रुपैयाँ विनियोजन गरिएको छ, जुन ३८.५६ प्रतिशत बराबर हो । वित्तीय व्यवस्थापनका लागि २५ करोड रुपैयाँ छुट्याइएको छ ।
मन्त्री शेरचनले चालू खर्चलाई वाञ्छित सीमाभित्र राख्दै पूँजीगत खर्चको कार्यान्वयन क्षमता बढाइने बताएका छन् ।
उनले विकास निर्माणलाई प्रभावकारी बनाउने गरी बजेट संरचना तयार गरिएको उल्लेख गरेका छन् ।
बजेटको खर्च व्यहोर्ने स्रोततर्फ संघीय सरकारको वित्तीय समानीकरण अनुदानबाट सात अर्ब ८४ करोड ८२ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।
चालू आर्थिक वर्षको कार्यक्रम कार्यान्वयनपछि दुई अर्ब रुपैयाँ नगद मौज्दात रहने अपेक्षा गरिएको पनि बजेट प्रस्तुत गर्दै जनाइएको छ ।