काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आज सोमबार प्रदेश सभामा आफ्नो नयाँ बजेट प्रस्तुत गर्दैछ। प्रदेश सभा सचिवालयका अनुसार आज अपराह्न ४ बजे बस्ने प्रदेश सभाको बैठकमा आर्थिक मामिला मन्त्री विक्रमसिंह धामीले बजेट तथा कार्यक्रम पेस गर्ने कार्यसूची रहेको छ।
मन्त्रालय स्रोतका अनुसार सुदूरपश्चिम सरकारले यस पटक प्रदेशको इतिहासमै हालसम्मकै सबैभन्दा ठुलो आकारको बजेट ल्याउने अन्तिम तयारी गरेको छ। बजेटको आकार वृद्धि गर्न सरकारले मुख्य रूपमा चालु आर्थिक वर्षको बजेटबाट हुने बचत (नगद मौज्दात) लाई प्रमुख आधार बनाएको आर्थिक मामिला मन्त्रालयका एक अधिकारीले जानकारी दिए।
प्रदेश नीति तथा योजना आयोगका सदस्य नृपबहादुर सुनारका अनुसार चालु आर्थिक वर्षको विनियोजित बजेटबाट खर्च नभई कम्तीमा ८ अर्ब रुपैयाँ बचत हुने अनुमान गरिएको छ, जसलाई आगामी वर्षको स्रोतका रूपमा उपयोग गरिनेछ।
यसका साथै आन्तरिक राजस्वको दायरा र सङ्कलनमा हुने वृद्धि सँगै वन स्रोतका कच्चा पदार्थ, गिट्टी तथा बालुवा उत्खनन लगायतका क्षेत्रबाट थप राजस्व उठ्ने आकलन सरकारको छ। चालु आर्थिक वर्षमा सरकारले आन्तरिक राजस्वको कुल अङ्क १ अर्ब ६५ करोड रुपैयाँ हुने अनुमान गरेको थियो, जसमा आगामी वर्ष उल्लेख्य वृद्धि हुने प्रक्षेपण गरिएको छ।
सरकारले यस पटक प्रदेश सभा सदस्य (सांसद) हरूका लागि बेग्लै बजेट व्यवस्था गर्न उनीहरूबाट योजना र आयोजनाको सूची संकलन गरिसकेको छ। सांसदहरूलाई रिझाउन सरकारले बजेटको अङ्क बढाएर कुल ३ अर्ब २९ करोड रुपैयाँ भागबन्डा गर्ने सहमति यसअघि नै गरिसकेको छ। मुख्यमन्त्री कार्यालयले सबै सांसदहरूबाट बजेट अङ्क र आयोजनाको विवरण लिइसकेको छ।
बजेटमा टुक्रे र साना योजनाहरूको बिगबिगी रोक्न मुख्यमन्त्री कमलबहादुर शाहले आगामी बजेटमा २५ लाख रुपैयाँभन्दा कम लागतका आयोजनाहरू समावेश नगर्ने घोषणा गरेका छन्। मुख्यमन्त्री शाहको नेतृत्वमा आउन लागेको यो तेस्रो बजेट हो। यसअघि पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारीको नेतृत्वमा पनि एक पटक बजेट प्रस्तुत भएको थियो, तर सो बजेट राजनीतिक असमझदारीका कारण प्रदेश सभाबाट पारित हुन सकेको थिएन।