काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले अमेरिका र इरानलाई दिगो शान्ति सम्झौताका लागि आफ्ना प्रयासहरूलाई उच्च प्राथमिकतामा राख्दै दोब्बर बनाउन आह्वान गरेका छन् । उनले द्वन्द्वको पुनःवृद्धि हुने कुनै पनि गतिविधिबाट टाढा रहनुपर्नेमा जोड दिएका छन् ।
संयुक्त राष्ट्रका प्रवक्ता स्टेफन डुजारिकका अनुसार इरानमाथि अमेरिकाले गरेको आक्रमण र खाडी क्षेत्रका छिमेकी देशहरूमा इरानले गरेको प्रतिआक्रमण तथा शत्रुतापूर्ण गतिविधिका कारण मध्यपूर्वमा तनाव उल्लेख्य रूपमा बढेको छ, जसप्रति महासचिव गम्भीर चिन्तित छन् ।
डुजारिकले अन्तर्राष्ट्रिय कानूनअनुसार समुद्री अधिकार र स्वतन्त्रताको सम्मान गर्नुपर्ने उल्लेख गर्दै सबै पक्षलाई नागरिकको सुरक्षाका लागि आवश्यक सावधानी अपनाउन आग्रह गरे।
संयुक्त राष्ट्रसङ्घले शान्ति प्रक्रियामा अगाडि बढ्ने एकमात्र प्रभावकारी बाटो वास्तविक संवाद र वार्ता नै भएको स्पष्ट गर्दै वाशिङ्गटन र तेहरानलाई क्षेत्रीय तथा विश्व शान्ति सुरक्षाका लागि स्थायी सम्झौतामा पुग्न आफ्नो प्रयास दोब्बर बनाउन आग्रह गरेको छ ।
संयुक्त राष्ट्रसङ्घको यो आह्वानले मध्यपूर्वमा बढ्दो तनावलाई नियन्त्रण गर्न कूटनीतिक समाधानको आवश्यकता अझ प्रस्ट पारेको छ ।
तर, अमेरिका र इरानबीचको लामो समयदेखिको अविश्वास र रणनीतिक प्रतिस्पर्धा कायम रहँदा केवल आह्वानले मात्र तत्काल समाधान दिन कठिन देखिन्छ । स्थायी शान्तिका लागि निरन्तर मध्यस्थता, विश्वास निर्माण र चरणबद्ध सहमतिहरू अपरिहार्य हुने विश्लेषण गरिएको छ ।एजेन्सी