arrow

शोभाको ‘सफलताका २७ स्वर्णिम सूत्रहरू’ लोकार्पण

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ३० शनिबार
shobha-adhikari-safaltaka-27-stutra.jpg

काठमाडौँ । साहित्यकार शोभा अधिकारीको ‘सफलताका २७ स्वर्णिम सूत्रहरू’ लोकार्पण गरिएको छ । जीवन विज्ञान प्रतिष्ठानका संस्थापक एलपी भानु शर्मा र अभिनेता दयाहाङ राईसहितले आज उक्त पुस्तकको लोकार्पण गरे । 
 
पुस्तकमा आत्म–प्रेम, आत्म–स्वीकृति र आत्म-सम्मान, सबैको प्रिय हुने सूत्र, सुखी, खुसी र सन्तुष्ट हुने उपाय, डर हटाउने, व्यक्तित्व विकासका सूत्र, जीवनलाई आनन्दित बनाउने कला, पारिवारिक सम्बन्ध सुमधुर बनाउने आधार, प्रविधिको सदुपयोग, सकारात्मक सोच, विचार र जीवन रुपान्तरणलगायत सूत्रहरू समेटिएका छन् ।
 
जीवन विज्ञानका संस्थापक शर्माले विश्व स्वास्थ्य सङ्गठनले विश्वका एक तिहाईभन्दा बढी जनसङ्ख्या गहिरो तनावमा रहेका जनाएको उल्लेख गर्दै तनावबाट मुक्त हुने उपाय सो पुस्तकमा सूत्रबद्ध भएको बताए । 

अभिनेता राईले पुस्तकमा उल्लेखित सूत्रहरू लेखकको सोच र चिन्तनबाट आएको र सबै मानिसमा समान रूपले लागू हुने नसक्ने बताए ।

पुस्तकको समालोचना गर्दै साहित्यकार डा नवराज अधिकारीले अवास्तविक महत्वकाङ्क्षाले मानिसको जीवनमा पार्ने दुष्प्रभाव, सुमधुर पारिवारिक सम्बन्ध, हास्य चेतनालगायत आध्यात्मिक विषयमा पुस्तकमा गहिरो चिन्तन गरिएको बताए ।

लेखिका अधिकारीले सबै क्षेत्रका व्यक्तिका लागि जीवनलाई आनन्दमय बनाउन पुस्तक उपयोगी हुने विश्वास व्यक्त गरिन् । उनले ‘सफलताका २७ स्वर्णिम सूत्रहरू’ ले मानसिक र भावनात्मक रूपमा बल प्रदान गर्नुका साथै जीवनका चुनौतीहरूको सामना गर्न सक्ने शक्ति दिने दाबी गरिन् ।

गोरखा नगरपालिका १३ की साहित्यकार अधिकारीले यसअघि लघु कथा सङ्ग्रह ‘आमाको आँखा’ सहित विभिन्न १० वटा पुस्तक सार्वजनिक गरिसकेकी छिन् । 

उनका ‘मुटुको मसी’ उपन्यास, ‘नेपालको नाता’ कथा, र ‘आँखाको आँसु’ निबन्ध प्रकाशोन्मुख छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ