arrow

भारतीय पर्यटकको लहरले पोखरा भरिभराउ, अफसिजनमै ९० प्रतिशत होटल अकुपेन्सी [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ३० शनिबार
tourist-pokhara-30-02.jpg

पोखरा । भारतीय पर्यटकको उल्लेख्य आगमनसँगै पर्यटकीय राजधानी पोखरा यतिबेला भरिभराउ बनेको छ। वर्षायामलाई पर्यटन ‘अफसिजन’ मानिने भए पनि यस वर्ष लेकसाइडदेखि अन्नपूर्ण पदमार्ग र मुक्तिनाथसम्म भारतीय पर्यटकको चहलपहलले पर्यटन व्यवसायमा नयाँ उत्साह थपेको छ।

फेवातालमा दैनिक पाँचदेखि सात हजारसम्म पर्यटकले डुङ्गा सयर गरिरहेको फेवा डुङ्गा व्यवसायी समितिले जनाएको छ। लेकसाइड क्षेत्रमा पर्यटकको बाक्लो उपस्थितिका कारण डुङ्गा व्यवसाय, होटल, रेष्टुराँ तथा अन्य पर्यटन व्यवसाय चलायमान बनेका छन्। अन्नपूर्ण आधार शिविर (एबीसी), मर्दी हिमाल र उपल्लो मुस्ताङलगायतका पदमार्गमा पनि भारतीय पर्यटकको उल्लेख्य उपस्थिति देखिएको छ।

होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार पछिल्लो ३२ वर्षकै इतिहासमा यस पटक सबैभन्दा धेरै भारतीय पर्यटक नेपाल आएका छन्। नेपाली नयाँ वर्षदेखि शुरू भएको पर्यटकको चाप जेठको अन्त्यसम्म कायम रहँदा पोखराका होटलहरूको अकुपेन्सी ९० प्रतिशतको हाराहारीमा पुगेको उनले बताए।

उनका अनुसार सामाजिक सञ्जालमार्फत मुक्तिनाथ, पोखरा र नेपालका अन्य पर्यटकीय गन्तव्यहरूको व्यापक प्रचारप्रसार हुनु, भारतमा बढ्दो गर्मी र लामो बिदाले भारतीय पर्यटकलाई नेपाल आकर्षित गरेको हो। भारतका विभिन्न स्थानमा तापक्रम ४५ डिग्री सेल्सियससम्म पुगेपछि शीतल मौसमको खोजीमा पोखरा आउने क्रम बढेको व्यवसायीहरूको भनाइ छ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले धार्मिक र साहसिक दुवै प्रकारका भारतीय पर्यटकको संख्या उल्लेखनीय रूपमा बढेको बताए। हिन्दू धर्मावलम्बीहरू पशुपतिनाथ र मुक्तिनाथ दर्शनका लागि आउने गरेका छन् भने युवा पुस्ता मर्दी हिमाल, एबीसी र अन्य पदयात्रा मार्गतर्फ आकर्षित भएका छन्।

आचार्यका अनुसार पर्यटकको चाप यति धेरै छ कि अफसिजनमै पदमार्गका होटल तथा लजहरूमा कोठा पाउन कठिन भइरहेको छ। उनले भारतीय पर्यटकको बढ्दो आगमनलाई नेपालको पर्यटन क्षेत्रका लागि सकारात्मक संकेतका रूपमा चित्रण गरे।

पर्यटकको बढ्दो संख्यासँगै व्यवस्थापनका चुनौती पनि थपिएका छन्। लेकसाइड र मुख्य पर्यटकीय क्षेत्रमा पार्किङ अभाव तथा ट्राफिक व्यवस्थापनमा दबाब बढेको छ। त्यस्तै, सामूहिक रूपमा बसमार्फत यात्रा गर्ने केही पर्यटकले सडक किनारमै खाना पकाउने र विश्राम गर्ने प्रवृत्तिले व्यवस्थापनमा समस्या सिर्जना गरेको पर्यटन व्यवसायीहरूको भनाइ छ।

आचार्यले प्रमुख धार्मिक तथा पर्यटकीय मार्गमा व्यवस्थित विश्राम केन्द्र निर्माण गर्न सके पर्यटकलाई सहज हुने र पर्यटन व्यवस्थापन प्रभावकारी बन्ने बताए। धार्मिक पर्यटकका लागि आधारभूत सुविधा विस्तार गर्न सके नेपालको पर्यटन छविमा थप सकारात्मक प्रभाव पर्ने उनको विश्वास छ।

फेवा डुङ्गा व्यवसायी समितिका अध्यक्ष बलराम गिरीले भारतीय पर्यटकको बढ्दो आगमनले डुङ्गा व्यवसायमा ठूलो राहत मिलेको बताए। उनका अनुसार फेवातालका आठवटै स्टेशनबाट दैनिक हजारौं पर्यटकले डुङ्गा सयर गरिरहेका छन्, जसले पोखराको पर्यटन गतिविधिलाई थप चलायमान बनाएको छ।

पर्यटन व्यवसायीहरूका अनुसार प्राकृतिक सौन्दर्य, धार्मिक आस्था, साहसिक गतिविधि, सहज यातायात र भारतसँगको निकटताले नेपाल भारतीय पर्यटकको प्रमुख रोजाइको गन्तव्य बन्दै गएको छ। भारतीय पर्यटकको बढ्दो आगमनले अफसिजनमै पोखराको पर्यटन उद्योगलाई नयाँ ऊर्जा दिएको व्यवसायीहरूको विश्वास छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ