दर्शनका लागि खुल्यो दामोदरकुण्ड, साउनसम्म निःशुल्क भोजनको व्यवस्था
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ३० शनिबार
195
Shares
काठमाडौँ। हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्र तथा मुस्ताङको प्रसिद्ध तीर्थस्थल दामोदरकुण्ड यस वर्षका लागि भक्तजन र पर्यटकका लागि खुला गरिएको छ। बाटो मर्मत सम्पन्न भएसँगै तीर्थयात्रा सहज बनाइएको स्थानीय जनप्रतिनिधिले बताएका छन्।
उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका-४ मा अवस्थित दामोदरकुण्ड समुद्री सतहदेखि चार हजार ८९० मिटरको उचाइमा रहेको छ।
लो-घेकर दामोदरकुण्ड गाउँपालिका-४ का वडाध्यक्ष ज्याङ छेसा गुरुङका अनुसार तीर्थस्थल पुग्ने मुख्य मार्गको मर्मत सकिएपछि यात्रुहरूको आवागमन सहज भएको छ।
यस वर्ष दर्शनार्थीलाई लक्षित गर्दै साउन महिनासम्म विशेष सुविधा उपलब्ध गराइएको छ। दामोदरकुण्ड क्षेत्रको धर्मशालामा जेठ २२ गतेदेखि निःशुल्क भोजनको व्यवस्था गरिएको छ, जसको सञ्चालन स्थानीयवासीले चन्दा संकलन गरेर गरिरहेका छन्।
दामोदरकुण्ड पुग्न कालीगण्डकी कोरिडोरअन्तर्गत जोमसोम-कोरला सडक हुँदै चराङ र त्यहाँबाट झुमा ठाँटीसम्म सवारी साधन प्रयोग गर्न सकिन्छ। त्यसपछि भने तीर्थयात्रीले घोडा वा पैदल यात्रा गर्नुपर्ने हुन्छ।
दुर्गम भूगोलका कारण पैदल यात्रा गर्न कठिन हुने तीर्थयात्रीका लागि प्रतिघोडा १० हजार रुपैयाँसम्म शुल्क निर्धारण गरिएको दामोदरकुण्ड मुक्तिनाथ विकास समितिले जनाएको छ। समितिले लेक लाग्ने समस्या भएका यात्रुको उद्धार र उपचारमा समेत सहजीकरण गर्दै आएको छ।
कालीगण्डकी नदीको उद्गमस्थल तथा मुक्तिक्षेत्रको शिर मानिने दामोदरकुण्ड धार्मिक दृष्टिले अत्यन्त महत्त्वपूर्ण मानिन्छ। यहाँ चक्रकुण्ड, दूधकुण्ड र तामाकुण्ड गरी तीन पवित्र जलाशय छन्, जसमध्ये चक्रकुण्डलाई मुख्य मानिन्छ।
दामोदरकुण्ड विशेषगरी शालीग्राम शीला र पवित्र जलका लागि प्रशिद्ध छ। धार्मिक विश्वासअनुसार कुबेरका पुत्रहरूले यहीँ स्नान गरेर पापबाट मुक्ति पाएका थिए। यही आस्थाका कारण हरेक वर्ष हजारौँ भक्तजन कठिन यात्रा पार गर्दै दामोदरकुण्ड पुग्ने गर्छन्।
दामोदरकुण्ड मुक्तिनाथ विकास समिति र स्थानीय गाउँपालिकाले आवास, भोजन तथा आधारभूत सुविधामा सुधार गरेपछि तीर्थयात्रा थप व्यवस्थित बन्दै गएको छ।
धार्मिक आस्था, प्राकृतिक सौन्दर्य र हिमाली शान्तिको अनुपम संगम मानिने दामोदरकुण्डले आन्तरिक तथा बाह्य धार्मिक पर्यटन प्रवर्द्धनमा समेत महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।