तस्बिर : अमेरिकाको लस एन्जलसको फुटबल मैदान, सिन्ह्वा ।
अहिले विश्वभर विश्वकप फुटबलको रौनक छ । ४८ प्रतिस्पर्धी देश त स्वभावैले विश्कपमा डुब्ने भए नै नेपाल जस्तो कहिले विश्वकप खेल्न पाउला भन्ने टुङ्गो नभएको देशसमेत विश्वकपमा तातेको छ ।
नेपाली फुटबलको स्थिति त्यति राम्रो छैन । दिनानुदिन खस्किदो छ । नेपालले अहिलेसम्म विश्वकप खेल्ने ठोस लक्ष्यसमेत राखेर तयारी गरेको छैन ।
दुई दशकअघि अखिल नेपाल फुटबल संघ (एन्फा) का तत्कालीन अध्यक्ष गणेश थापाले प्रसङ्गवश ‘अबको १५ वर्षपछि नेपालले पनि विश्वकप खेल्छ’ भनेर दृढता राखेका थिए । उनको विश्वासले १५ वर्ष नाघेको पनि धेरै भयो । यही गतिमा नेपाली फुटबल अगाडि बढ्ने हो भने अबको थप १५ वर्षमा पनि विश्वकप खेल्ने लक्षण कहीँ कतै देखिँदैन ।
विश्वको सर्वोच्च निकाय फिफासँग आवद्ध सबै राष्ट्रले विश्वकप खेल्न पाएका दिनमात्र नेपालले पनि विश्वकप खेल्न पाउने अवस्था सिर्जना हुँदै गएको छ । यद्यपि जसरी यो विश्वकपमा सहभागीको संख्या बढ्यो त्यसरी नै टिम संख्या बढ्दै जाँदा नेपालले पनि अवसर पाउन सक्छ ।
अहिले नेपाली फुटबलका गतिविधि ठप्प जस्तै छन् । जिम्मेवार निकायलाई खेलकुदका गतिविधिमा रुची छैन । राष्ट्रिय खेलकुद परिषदलाई फुटबलबारे खासै जानकारी छैन ।
सरकारलाई त झन् खेलकुदमै चासो छैन भन्दा फरक पर्दैन । अहिलेसम्मका जुनसुकै सरकारले खेलकुदमा गरेको लगानीबाटै स्पष्ट हुन्छ कि खेलकुदमा कत्तिको चासो छ भन्ने कुरा ।
हुँदा हुँदा अहिले त एन्फासमेत कारबाहीमा पर्ने चिन्ता बढेको छ । थापाले राखेको विश्वास पूरा हुन्छ नै भन्ने ग्यारेन्टी नभए पनि उनी जस्तै एउटा सपना पालेर अगाडि बढ्ने व्यक्ति एन्फामा नहुँदा स्वभावैले फुटबल उँभो लाग्ने छाँट छैन ।
नेपालले विश्वकपमा छनोट हुने आशा राखेर छनोट खेल्न थालेको भने धेरै वर्ष नै भएको छ । नेपाल भन्दा निकै कमजोर राष्ट्रले विश्वकप खेल्दा नेपाल अझ पछि धकेलिनु पक्कै शुभ संकेत हैन ।
यस्तो छ नेपालको अहिलेसम्मको छनोट यात्रा
नेपालले विश्वकप छनोट यात्रा थालेको चार दशकभन्दा बढी समय भइसकेको छ । यो क्रममा नेपालले अधिकांश छनोट खेलहरूमा बिर्सनयोग्य प्रदर्शन गर्यो भने केही सम्झनलायक पनि छन् ।
नेपालले गोल गर्न नै तेस्रो सहभागीता कुर्नुपर्यो भने खेल जित्न चौथो संस्करण कुर्नुपर्यो । कतिपय अवस्थामा नेपालले नियमित रूपमा विश्वकप छनोटसमेत खेलेन ।
पहिलो पटक छनोटः
नेपालले सन् १९८५ मा पहिलो पटक विश्वकप छनोट खेलेको हो । मेक्सिकोमा भएको सन् १९८६ को विश्वकपका लागि नेपालले छनोट खेलेको हो । रुपकराज शर्माको नेतृत्वमा रहेको नेपाल छनोटमा दक्षिण कोरिया र मलेसियाको समूहमा परेको थियो । घरेलु दशरथ रंगशालाको मैदानमा भएको खेलमा दक्षिण कोरियासँग २–० ले पराजित भयो । त्यो खेलमा नेपालले निकै कै राम्रो खेलेको थियो । साक्षीहरू त्यो खेल नेपालले जित्नैपर्ने खेल भएको बताउँछन् । अचम्म त के भने कोरिया विजयी शुरूआतसँगै विश्कपमा छनोट भयो । त्यसयता कोरिया निरन्तर विश्वकप खेलिरहेको छ ।
मलेसिया विरुद्धको खेल नेपालले दशरथ रंगशालामै १–० ले गुमायो । अवे खेलमा भने नेपाल सियोलमा भएको खेलमा कोरियासँग ४–० ले पराजित भयो भने क्वालालम्पुरमा भएको खेलमा मलेसियासँग ५–० ले हार्न पुग्यो ।
दोस्रो पटक छनोटः
नेपालले सन् १९९० को इटाली विश्वकपका लागि सन् १९८९ मा दोस्रोपटक छनोट खेल्यो । यो छनोटमा नेपालले बिर्सनयोग्य नै खेल्यो । गणेश थापाको कप्तानीमा रहेको नेपाल पहिलो समूह चरणमा दक्षिण कोरिया, मलेसिया र सिंगापुरसँग थियो । भारत पनि रहेकामा उसले नाम फिर्ता लिएको थियो । नेपालले घरेलु मैदानमा खेल्न पाएन । तटस्थ भूमिका रूपमा नेपालले दक्षिण कोरिया र सिंगापुरमा खेल्यो । खेलेका ६ खेलमा २८ गोल खायो । मलेसियासँग २–० र ३–०, दक्षिण कोरियासँग ९–० र ४–० तथा सिंगापुरसँग नेपाल ३–० र ७–० ले पराजित भयो ।
तेस्रो पटक छनोटः
नेपालले तेस्रो पटक सन् १९९७ मा सन् १९९८ को फ्रान्स विश्वकपका लागि छनोट खेल्यो । राजुकाजी शाक्यको कप्तानीमा खेलेको नेपाल समूह चरणमा जापान, ओमान र मकाउसँग भिडेको थियो । समूहका सबै खेल ओमानको मस्कट र जापानको टोकियोमा खेलाइएका थिए । मकाउ विरुद्धको पहिलो खेल १–१ को बराबरी खेल्दै नेपालले पहिलो पटक एक अंक बटुल्यो । त्यही खेलबाट नेपालले गोलको खडेरी पुर्न सफल भयो । हरि खड्काले गोल गरे । अर्को खेलमा २–१ को हार बेहो¥यो । नेपालका लागि दीपक अमात्यले गोल गरे । अन्य खेलमा नेपाल ओमानसँग १–० र ६–० ले तथा जापानसँग ६–० र ३–० ले पराजित भयो ।
चौथो पटक छनोटः
नेपालले चौथो पटक सन् २००२ को जापान–दक्षिण कोरिया विश्वकपका लागि सन् २००१ मा खेल्यो । डिफेन्डर देवनारायण चौधरीको नेतृत्वमा रहेको नेपालले यो विश्वकप छनोटलाई थप यादगार बनायो । एसियाली छनोटमा नेपालले पहिलो पटक जित हासिल गर्यो ।
नेपालको समूहमा इराक, काजकिस्तान र मकाउ रहेका थिए । नेपालले मकाउलाई दुवै खेलमा हराउन सफल भयो । त्यो पनि फराकिलो अन्तरले । मकाउविरुद्ध पहिलो खेल ४–१ ले जितेको नेपालले दोस्रो खेलमा झन् राम्रो खेल्दै ६–१ को जित निकाल्यो ।
नेपालका लागि पहिलो खेलमा निराजन रायमाझीले २ तथा हरि खड्का र बसन्त थापाले १–१ गोल गरे । दोस्रो खेलमा निराजनले ३ गोल गरे । उनी विश्वकप छनोटमा ह्याट्रिक गर्ने पहिलो नेपाली खेलाडी बने । हरि खड्का, बालगोपाल महर्जन र बसन्त थापाले १–१ गोल गरे ।
अन्य खेलमा नेपाल इराकसँग ९–१ ले र ४–२ ले पराजित भयो । पहिलो खेलमा निराजन र दोस्रो खेलमा हरि र निराजनले गोल गरे । काजखस्तानसँग भने नेपाल ६–० र ६–१ ले पराजित भयो । हरिले नेपालका लागि गोल गरे । समग्रमा नेपाले चौथोपटकको छनोटमा त्यतिन्जेलकै उत्कृष्ट खेल्यो । नेपालले १३ गोल गर्दा २७ गोल खायो । निराजन एक्लैले ७ गोल गरे । त्यस्तै हरिले ३, बसन्तले २ तथा बालगोपालले १ गोल गरे ।
पाँचौँ पटक छनोटः सन् २००६ को जर्मनी विश्वकपका लागि नेपालले छनोट नै खेलेन । सन् २०१० को दक्षिण अफ्रिका विश्वकपका लागि नेपालले भने पाँचौँ पटक छनोट खेल्यो । ओमानविरुद्ध डिफेन्डर राकेश श्रेष्ठको कप्तानीमा उत्रेको नेपाल ‘होम एन्ड अवे’ खेलमा समान २–० ले पराजित भयो । त्यसपालिको विश्वकप छनोट नेपालका लागि दुई खेलमै सीमित भयो ।
छैटौँ पटक छनोटः
नेपालले सन् २०१४ को ब्रजिल विश्वकप छनोटमा राम्रो प्रदर्शन ग¥यो । नेपाल पहिलो पटक दोस्रो चरणमा पुग्यो । छनोटको पहिलो चरणमा नेपालले टिमोर लिस्टेलाई पराजित ग¥यो । काठमाडौँमै भएका दुवै खेलमा नेपाल २–१ र ५–० ले विजयी भयो । पहिलो खेलमा अनिल गुरुङ र जमनु राईले गोल गरे । दोस्रो खेलमा अनिलले २ तथा जुमनु, भोला सिलवाल र जगजित श्रेष्ठले १–१ गोल गरे । नेपाल समग्रमा ७–१ ले विजयी भयो ।
दोस्रो चरणको खेलमा भने नेपाल पराजित हुन पुग्यो । अवे खेलमा नेपाल ९–० को हार बेहोर्न पुग्यो भने घरेलु मैदानमा भएको दोस्रो लेगमा १–१ को बराबरी खेल्यो । नेपाललाई भरत खवासले गोल दिलाए । जोर्डन जस्तो बलियो टिमसँग १–१ को बराबरी खेल्नु पनि नेपालका लागि सुखद् नतिजाका रूपमा लिइयो ।
सातौँ पटक छनोटः
सन् २०१८ को रूस विश्वकप छनोटमा नेपालको यात्रा छोटो रह्यो । सन् २०१५ मा नेपालले एक्लो प्रतिद्वन्द्वी भारतसँग खेल्यो । पहिलो लेग भारतले जित्यो भने दोस्रो लेग बराबरीमा टुंगियो । भारतको गुवाहाटीमा भएको पहिलो लेग नेपालले २–० ले गुमायो । दशरथ रंगशालामा भएको दोस्रो लेगमा नेपालले गोलरहित बराबरी खेल्यो । समग्रमा २–० ले पराजित हुँदै नेपाल बाहिरियो ।
आठौँ पटक छनोटः
सन् २०२२ को कतार विश्वकपका लागि नेपालले सन् २०१९ मै छनोट खेल्यो । नेपालले पहिलो चरण खेल्नै परेन । एसियाका शीर्ष ३४ वरीयताभित्र पर्ने टिमले सिधै दोस्रो चरण खेल्न पाउने भएसँगै नेपालले त्यो सफलता हासिल ग¥यो । त्यतिबेला नेपाल एएफसीको ३४ भित्र तथा फिफाको १६१ औँ स्थानमा थियो । किरण चेम्जोङको कप्तानीमा रहेको नेपालले दोस्रो चरणमा अष्ट्रेलिया, कुवेत, जोर्डन र चाइनिज ताइपेईसँग खेलेको थियो ।
समूह बीमा रहेको नेपालले कोरोना भाइरसको महामारीका कारण ‘होम’ खेल खेल्न सकेन । तटस्थ स्थल भुटानमा खेल्यो । कुवेतविरुद्ध नेपाल ७–० र १–० ले पराजित भयो । अष्ट्रेलियासँग ५–० र ३–० ले पराजित भयो । जोर्डनसँग दुवै खेलमा समान ३–० ले पराजित भयो । चाइनिज ताइपेईलाई दुवै खेलमा हरायो ।
नेपालले दुवै खेल २–० ले जित्यो । पहिलो खेलमा अञ्जन विष्टले दुवै गोल गरे । दोस्रो खेलमा अञ्जन र नवयुग श्रेष्ठले गोल गरेका थिए । समूहमा चौथो भएको नेपाल विश्वकपको अर्को चरणमा नपुगे पनि एसियन कपको अर्को चरणमा भने छानियो ।
नवौँ पटक छनोटः
सन् २०२६ को अमेरिका, क्यानाडा र मेक्सिको विश्वकप छनोटमा नेपाल दोस्रो चरणसम्म पुग्यो । किरण चेम्जोङ नेतृत्वको नेपालले पहिलो चरणमा सन् २०२३ मा लाओसलाई हरायो । होम खेलमा नेपालले १–१ को बराबरी खेल्यो । नेपालका लागि अञ्जन विष्टले गोल गरे । अवे खेलमा नेपालले १–० को जित हासिल ग¥यो । नेपालका लागि मनिष डाँगीले गोल गरे ।
दोस्रो चरणमा भने नेपालले यूएई, बहराइन र यमनसँग खेल्यो । घरेलु दशरथ रंगशालाको मैदान फिफाको अन्तर्राष्ट्रिय मापदण्डअनुसार नभएसँगै नेपालले साउदी अरेबिया र बहराइनलाई होम मैदान बनाएर खेल्न बाध्य भयो ।
यूएईसँग नेपाल दुवै खेलमा समान ४–० को हार बेहोर्न बाध्य भयो । बहराइनविरुद्ध नेपाल ५–० र ३–० ले पराजित भयो । यमन विरुद्धको पहिलो लेगको खेलमा २–० को हार बेहोरेको नेपालले दोस्रो खेलमा भने २–२ को बराबरी खेल्यो । नेपालका लागि सञ्जीव विष्ट र जिलेस्पीजंग कार्कीले गोल गरे । नेपालका लागि किरण अन्तर्राष्ट्रिय सय खेल खेल्ने पहिलो खेलाडीसमेत बने ।