काठमाडौँ । विश्वकप फुटबलको नयाँ संस्करण बिहीबार रातिदेखि शुरू हुँदैछ । अमेरिका, मेक्सिको र क्यानाडाको संयुक्त आयोजनामा हुँदै गरेको विश्वकपमा पहिलो पटक ४८ टिम रहेका छन् ।
१६ सहरमा १०४ खेल हुँदैछन् । ९६ वर्षपछि पहिलो पटक तीन देशले आयोजना गर्दैछन् । १२ समूहमा रहेर हुने प्रारम्भिक चरणबाट दोस्रो चरणमा ३२ देश पुग्नेछन् । यसपालि सबैभन्दा चर्चामा रहेका लियोनल मेसी र क्रिष्टियानो रोनाल्डोसहित एक हजार २४८ खेलाडीमा सबैको नजर हुनेछ ।
चार देश केब भर्डे, जोर्डन, उज्वेकिस्तान र क्युरासाओले पहिलो पटक विश्वकप खेल्दैछन् । हैटीले सन् १९७४ पछि पहिलो पटक विश्वकप खेल्दैछ । त्यस्तै अष्ट्रिया, नर्वे र स्कटल्याण्डले सन् १९९८ पछि पहिलो पटक विश्वकपमा खेल्दैछन् ।
आफ्नो देश विश्वकपमा नपुग्दासम्म नेपाली फुटबलप्रेमीले अर्को देशकै समर्थन गर्छन् । यो स्वभाविक पनि हो ।
नेपाली घरमा पनि विश्वकप भित्रिएको छ । सबैले पक्कै आ–आफ्नो योजना बनाएकै छन् । हामीले फुटबलका केही दिग्गजसँग मनपर्ने टिम र विश्वकप हेर्नेबारे कुराकानी गरेका छौँ ।
राष्ट्रिय टिमका पूर्व कप्तान एवं अखिल नेपाल फुटबल संघ एन्फाका पूर्व अध्यक्ष गणेश थापा सदावहार रूपमै अर्जेन्टिनाले विश्वकप जितोस् भन्ने चाहना राख्छन् ।
उनले पहिलो प्राथमिकतामा अर्जेन्टिना नै रहेको र उसले जित्न नसके चर्चित खेलाडी भएको कारणले पोर्चुगलले जित्दा पनि हुने उनी बताउँछन् ।
उनको खेल हेर्ने योजना भने घरमै बसेर हुनेछ । यद्यपि साथीभाइले बोलाए त्यहाँ पनि गएर सँगसँगै फुटबल हेर्न सकिने उनको भनाइ छ ।
एन्फाका अर्का पूर्व अध्यक्ष एवं हिमालयन शेर्पा क्लबका अध्यक्ष कर्माछिरिङ शेर्पा भने ब्राजिलका फ्यान हुन् । उनले भने, ‘म त सदावहार ब्राजिलको फ्यान हो ।’
उनले यसपालिका खेल घरमै बसेर हेर्नेछन् । उनी एउटा भए पनि खेल हेर्न जाने इच्छा भएको बताएका छन् ।
तर उनको दुःखेसो छ । हालको एन्फा नेतृत्वले टिकट नदिएको भनेर उनले गुनासो गरेका छन् । उनले भने, ‘अन्य क्लबले टिकट पाए मैले पाइन । ईमेलसमेत लेखेर दिँदा पनि मलाई टिकट दिइएन । म पनि एन्फाको सदस्य हुँ । तैपनि बाहिरबाट भए पनि टिकट लिने प्रयास गरिरहेको छु ।’
राष्ट्रिय टिमका पूर्व खेलाडी एवं एन्फा उपाध्यक्ष विराटजंग शाहीलाई मन पर्ने टिम जर्मनी हो । उनी पहिलेदेखि नै जर्मनीका फ्यान हुन् । उनले भने, ‘आफू त पहिलेदेखि नै जर्मनीको फ्यान हो ।’
उनले पहिलो चरणका खेलहरू घरमै बसेर हेर्नेछन् । प्रिक्वार्टरफाइनलदेखि भने सानो गौचरणको मैदानमा हेर्न सकिने जनाए ।
प्रत्यक्ष हेर्नका लागि जानेबारे नसोचेको तर जान पनि सकिने उनको भनाइ छ ।
प्रशिक्षक एवं राष्ट्रिय टिमका पूर्व कप्तान राजुकाजी शाक्य ब्राजिलका फ्यान हुन् । तर यसपालि पोर्चुगलका खेलाडी क्रिष्टियानो रोनाल्डोले विश्वकप उचालोस् भन्ने कामना छ ।
उनी वर्षौैंदेखि विश्वकपका खेल एकान्तमै घरमा बसेर हेर्छन् । यसबारे उनी भन्छन्, ‘म त घरमै बसेर हेर्ने हो । केही नयाँ सिक्न पाइन्छ । त्यही तरिका सिकाउन पाइन्छ । बाहिर बसेर हेरियो भने होहल्ला हुन्छ । केही सिक्न पाइँदैन ।’
प्रशिक्षक एवं पूर्व कप्तान बालगोपाल महर्जनले भने यसपालि विश्वकपका खेलहरू महत्वपूर्णमात्रै छानेर हेर्नेछनु । उनको जिम्मेवारी पनि त्यस्तै छ । विश्वकप सकिएको भोलिपल्टै दुरान कपका लागि जानपर्ने भएपछि खेलाडीलाई अन्तिम प्रशिक्षण दिन उनी व्यस्त छन् ।
उनले भने, ‘पहिले जिम्मेवारी त्यसपछिमात्र समय मिल्यो भने खेल हेर्ने हो । राति खेलेर अर्को दिन बिहानै आर्मी क्लबमा तयारीका लागि जान सकिँदैन । त्यसैले विचार गरेर हेर्नेछु ।' उनले आफ्नो मनपर्ने टिम अहिले कोही नभएको र राम्रो खेल्ने सबैलाई समर्थन गर्ने बताए ।
प्रशिक्षक एवं राष्ट्रिय टिमका खेलाडी एवं हरि खड्का यसपालि आफ्नो चाहना पोर्चुगलले जितोस् भन्ने रहेको बताउँछन् । खासमा उनी फ्रान्सका फ्यान हुन् ।
उनले एउटा रेकर्ड रोनाल्डोले पनि राखोस् भन्ने चाहनाले पोर्चुगलले जितोस् भन्ने रहेको बताए । उनले अधिकांश खेलहरू दरबारमार्गमा हेर्नेछन् भने धेरै रातिका खेल घरमै बसेर हेर्ने योजना रहेको बताए ।
एन्फाका अध्यक्ष, महासचिव एवं प्रवक्तासँग पनि कुराकानी गर्न खोजिएको थियो । यद्यपि अध्यक्ष र महासचिवले मोबाइल उठाएनन् भने प्रवक्ताको मोबाइल स्विचअफ थियो ।
साथै केही फुटबलका पूर्व खेलाडी एवं प्रशिक्षक एवं विज्ञहरूसँग पनि कुरा गर्ने प्रयास भने सफल हुन सकेन ।