पहिरोले अवरुद्ध कर्णाली करिडोर आज बिहानदेखि एकतर्फी सञ्चालनमा
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २८ बिहिबार
98
Shares
काठमाडौँ । लगातारको अविरल वर्षा र पहिरोका कारण अवरुद्ध बनेको कर्णाली करिडोर आज बिहानदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको छ। मङ्गलबार र बुधबार परेको भारी वर्षाले सडक खण्डका विभिन्न स्थानमा पहिरो जाँदा यातायात सेवा पूर्ण रूपमा ठप्प भएको थियो।
वर्षाका कारण कर्णाली करिडोरअन्तर्गत कालीकोट सडकखण्डको नरहरिनाथ गाउँपालिका–८ खुलालुदेखि बाजुराको सिमाना लैफुसम्मका विभिन्न ठाउँमा लेदोसहितको पहिरो खसेको थियो। जिल्ला प्रशासन कार्यालय कालीकोटका अनुसार दुई दिनसम्मको बर्सातले सुर्खेत–हुम्ला सडकखण्डको खुलालु-लैफु क्षेत्रमा अवरोध सिर्जना गरेकोमा सडकमा जम्मा भएको पहिरो र लेदो हटाएर यातायात पुनः सुचारु गरिएको हो।
सडक एकतर्फी रूपमा खुलाइए पनि सो क्षेत्रमा यात्रा गर्दा अझै ठुलो जोखिम रहेको प्रशासनले जनाएको छ। सडकको माथिल्लो भागमा रहेको भिरालो जग्गाबाट जुनसुकै बेला पनि ढुङ्गा खस्न सक्ने सम्भावना कायमै छ।
सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी जनक शर्माले सडक निकै साँघुरो भएको र धेरै ठाउँमा एकतर्फी मात्र गाडी पास हुने अवस्था रहेकाले यस सडक खण्ड भएर यात्रा गर्ने चालक तथा यात्रुहरूलाई आवश्यक सावधानी र पूर्ण सतर्कता अपनाउन आग्रह गरेका छन्।