arrow
ADVERTISEMENT

मुग्लिन–मलेखु सडकखण्डका चारवटा पुल असारभित्रै सञ्चालनमा आउने

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २८ बिहिबार
mugling-pokhara-sadak-17-08.jpg

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत चितवनको मुग्लिन–मलेखु सडकखण्डमा निर्माणाधीन रहेका चारवटा नयाँ पुल आगामी असार महिनाभित्रै सञ्चालनमा ल्याउने गरी तयारी तीव्र पारिएको छ। ती पुलहरूको प्राविधिक तथा मुख्य संरचना निर्माणको काम सकिएर अहिले सामान्य कामहरू मात्र बाँकी रहेका छन्। 

नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड कार्यालयका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार खहरे खोला, चिरौँदी खोला, गोमती खोला र हुग्दी खोलामा बनिरहेका पुलहरू असारभित्रै गाडी गुडाउन मिल्ने गरी सञ्चालनमा ल्याउन लागिएको हो। 

हाल ती पुलहरूमध्ये कतिपयको मुख्य सडकसँग जोड्ने पहुँच मार्ग बनाउन बाँकी छ भने पुलको प्लास्टर, रङरोगन र ट्राफिक सुरक्षालगायतका प्राविधिक कामहरू भइरहेका छन्। समग्रमा ती पुलहरूको ९० प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको र असारभित्रै पुल सञ्चालन गर्ने तयारीमा जुटेको उनले बताए। 

यसै खण्डमा पर्ने अन्य दुई पुलहरू हुग्दी र चरौँदी खोलाको पुल भने अझै निर्माणाधीन अवस्थामै छन्, जसमध्ये हुग्दीको ३० प्रतिशत र चरौँदीको ५० प्रतिशत काम सकिएर अहिले ती पुलहरूको भुइँ तथा पिल्लरको जग हाल्ने कार्य भइरहेको छ।

बजारमा अलकत्राको मूल्य अत्यधिक बढेर आउन छाडेपछि यस सडक खण्डमा केही समयदेखि कालोपत्र (पिच) गर्ने काम रोकिएको थियो, जसका कारण सो अवधिमा ढल निर्माण र रेलिङ लगाउने कामलाई मात्र निरन्तरता दिइएको थियो। अहिले निर्माण कम्पनीले एक-दुई दिनमै अलकत्रा आइपुग्ने र कालोपत्रको काम तत्कालै सुरु हुने जानकारी दिएको छ। 

आयोजनाका अनुसार सबबेस राखिसकिएको करिब दुई किलोमिटर सडकमा बेस राखेर पिच गर्ने तयारी छ र यो काम सकिएलगत्तै थप खण्डमा पनि कालोपत्रको तयारी गरिनेछ।

समग्र मुग्लिन–मलेखु सडक खण्डको निर्माण कार्य हालसम्म ४३ प्रतिशत मात्र सम्पन्न भएको छ। विश्व बैङ्कको आर्थिक सहयोगमा स्तरोन्नति भइरहेको यस खण्डको कुल लम्बाइ ३८ दशमलव ८६ किलोमिटर रहेको छ, जुन काठमाडौँ उपत्यका प्रवेश गर्ने र बाहिरिने देशकै मुख्य नाका हो। 

यस खण्डअन्तर्गत मलेखु, बेनीघाट र मुग्लिन बजार क्षेत्रमा गरी कुल २.२ किलोमिटर सडक ६ लेनको बन्नेछ भने रमाइलो डाँडा, कुरिनटार, फिस्लिङ, चुम्लिङ, मझीमटार, चरौँदी र विशालटार क्षेत्रमा गरी ७.२ किलोमिटर सडक ४ लेनको हुनेछ। उकालो-ओरालो पर्ने कडा भौगोलिक खण्डहरूमा गाडी सहजै पास हुनका लागि २.३ किलोमिटरको 'क्लाइम्बिङ' मार्ग अर्थात् ३ लेनको सडक बनाइनेछ भने बाँकी रहेको अन्य सबै सडक खण्डहरू दुई लेनको हुनेछ।

निर्माण कम्पनीले कुल ४ अर्ब ८० करोड ५९ लाख रुपैयाँमा यस सडक खण्डको स्तरोन्नति गर्ने ठेक्का सम्झौता लिएको हो। सडकका विभिन्न क्षेत्रमा कालोपत्र गर्ने कामसँगै नाला बनाउने, पहिरो रोकथामका लागि भित्तो काट्ने तथा पर्खाल लगाउने जस्ता कयौँ संवेदनशील कामहरू अझै बाँकी नै छन्। 

यसअपि गत पुस महिनामा सम्झौताको म्याद सकिएपछि आयोजनाले १८३ दिनको म्याद थप गरिदिएको थियो। उक्त थपिएको म्याद पनि सकिन लागेकाले निर्माण कम्पनीले बाँकी अवधिको काम सम्पन्न गर्न थप म्यादका लागि कानुनी प्रक्रिया अगाडि बढाइसकेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ