एसियाली खेलकुद टी-२० छनोटको उपाधि नेपाललाई, हङकङमाथि १९ रनको जित
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २५ सोमबार
579
Shares
काठमाडौँ । सन् २०२६ एसियाली खेलकुद पुरुष टी-२० क्रिकेट छनोट प्रतियोगिताको उपाधि नेपालले जितेको छ । फाइनलमा हङकङलाई १९ रनले हराउँदै नेपालले उपाधि जितेको हो ।
सिंगापुरमा सोमबार भएको फाइनलमा टस जितेर नेपालले पहिले बलिङ गर्ने निर्णय गरेपछि हङकङले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८८ रन बनायो।
हङकङका लागि अन्शुमन रथले ४५ बलमा ६ चौका र ६ छक्काको मद्दतमा सर्वाधिक ८० रन बनाए। शाहिद वासिफले २८ बलमा ७ चौका र ३ छक्कासहित ५५ रनको आक्रामक इनिङ्स खेले। शिव माथुरले २६ रन जोडे भने कप्तान यासिम मुर्तजाले ९ रन बनाए।
नेपालका लागि शेर मल्ल सर्वाधिक सफल बलर बने। उनले ४ ओभरमा ३२ रन खर्चेर ४ विकेट लिए। करण केसीले ४ ओभरमा ४५ रन दिएर २ विकेट लिए भने सन्दीप लामिछानेले १ विकेट हात पारे। दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा २८ रन खर्चिए पनि विकेट लिन सकेनन्। सोमपाल कामी विकेटविहीन रहे।
हङकङको इनिङ्समा अतिरिक्तबाट ६ रन थपिएको थियो। अन्तिमतिर हसन खान मोहम्मद २ र एहसान खान अविजित रहे।
जवाफमा नेपालले ११ ओभर ३ बलमा खेल्दा २ विकेटको क्षतिमा ११४ रन बनाएपछि वर्षाले खेल अगाडि बढ्न नसकेपछि नेपाल डक वर्थ लेविस नियमअनुसार १९ रनले विजयी भएको हो ।
नेपालका लागि कुशल भुर्तेलले ४० बलमा अविजित रहँदै ६५ रन बनाए भने रोहित पौडेलले २४ बलमा अविजित रहँदै ३५ रन जोडे ।
यो छनोटबाट नेपाल, हङकङ, ओमान र मलेसिया जापानमा हुने एसिया कपका लागि छानिएका छन् । नेपाल अपराजित रहँदै उपाधि जित्न सफल भएको हो ।
सो क्रममा नेपालले लगातार दुई खेलमा उच्च योगफल बनाउँदै विश्व कीर्तिमानसमेत राखेको थियो ।