arrow

पाथीभरा केवल कार निर्माणको काम अघि बढाउन माग गर्दै ताप्लेजुङमा सद्भाव र्‍याली

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २५ सोमबार
ime-pathibara-cable-car-rally-june-2026.jpg

ताप्लेजुङ। पाथीभरा केवल कार परियोजनाको निर्माण कार्यलाई अविलम्ब अघि बढाउन माग गर्दै ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा बृहत् सद्भाव र्‍याली निकालिएको छ।

‘विकासप्रेमी युवा समाज’को आयोजनामा निकालिएको र्‍यालीमा स्थानीयवासी, विभिन्न सङ्घसंस्था तथा सरोकारवालाको उल्लेख्य सहभागिता रहेको थियो।

सहभागीहरूले पाथीभरा केवल कार परियोजनाले धार्मिक पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना, स्थानीय उत्पादनको बजारीकरण, पूर्वाधार विकास तथा स्थानीय अर्थतन्त्रको समग्र विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने भन्दै निर्माण कार्यलाई निरन्तरता दिनुपर्ने माग गरेका थिए।

फुङ्लिङ बजार परिक्रमा गरेको र्‍याली वीरेन्द्र चोकमा पुगेर सभामा परिणत भएको थियो।

कार्यक्रममा विभिन्न सङ्घसंस्था, सरोकारवाला तथा स्थानीय निकायका प्रमुख एवं प्रतिनिधिहरूले केवल कार यातायातको साधन मात्र नभई विकासको महत्त्वपूर्ण पूर्वाधार भएको बताउँदै यसको निर्माण कार्य यथाशीघ्र सम्पन्न गर्न आग्रह गरेका थिए।

उनीहरूले केवल कार, जलविद्युत् र सडकजस्ता पूर्वाधारले ताप्लेजुङ मात्र नभई समग्र कोशी प्रदेश तथा मुलुककै आर्थिक विकास र समृद्धिमा योगदान पुर्‍याउने भएकाले विकास निर्माणका कार्यमा अवरोध सिर्जना गर्न नहुने धारणा राखेका थिए।

सभामा वक्ताहरूले परियोजनाको करिब ६० प्रतिशत निर्माण सम्पन्न भइसकेको अवस्थामा काम रोक्नु उपयुक्त नहुने उल्लेख गर्दै निर्माण कार्य छिटो सम्पन्न हुने वातावरण बनाउन सरकारसँग आग्रह गरेका थिए।

दशकौँदेखि पाथीभरा देवी मन्दिरसम्म पुग्ने केवल कार परियोजनाको चर्चा भए पनि विभिन्न कारणले यसको निर्माणले मूर्त रूप लिन सकेको थिएन। केही वर्षअघि आइएमई समूहले परियोजनाको नेतृत्व लिएसँगै निर्माण कार्य अगाडि बढेको हो।

निर्माण पक्षका अनुसार पाथीभरा केवल कार परियोजनाको करिब ६० प्रतिशत काम सम्पन्न भइसकेको छ। निर्माण कार्य स्थगन हुन सक्ने चर्चा चलिरहेका बेला परियोजनालाई निरन्तरता दिनुपर्ने मागसहित सद्भाव र्‍याली आयोजना गरिएको जनाइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ