अत्यधिक गर्मी बढेपछि कोहलपुरका विद्यालय तीन दिनका लागि बन्द
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २५ सोमबार
321
Shares
काठमाडौँ । बाँकेसहित तराईका जिल्लाहरूमा पछिल्ला केही दिनयता अत्यधिक गर्मी बढ्दै गएपछि कोहलपुर नगरपालिकाले आजदेखि तीन दिनसम्मका लागि पालिकाभित्रका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ।
उच्च तापक्रम र तातो हावा (लु) का कारण विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै नगरपालिकाले जेठ २५ गतेदेखि २७ गतेसम्मका लागि नगरभित्रका संस्थागत तथा सामुदायिक विद्यालयहरूमा नियमित पठनपाठन स्थगन गरेको हो। कोहलपुर नगरपालिकाको शिक्षा तथा खेलकुद शाखाका प्रमुख रविलाल मिजारका अनुसार नगरभित्र सञ्चालित ३३ वटा सामुदायिक र ५० वटा संस्थागत (निजी) विद्यालयहरूमा पठनपाठन बन्द गरिएको छ।
शाखा प्रमुख मिजारले मौसमको अवस्था तत्काल सुधार हुने सम्भावना नदेखिएको र तापक्रम लगातार बढ्दो क्रममा रहेकाले विद्यार्थीहरूको सुरक्षालाई प्राथमिकतामा राखेर यो निर्णय लिइएको बताए। उनले यदि केही दिनमा वर्षा भएर गर्मी घटेको खण्डमा तीन दिन मात्रै बिदा हुने तर मौसम यस्तै रहेमा बिदा थप दुई दिन लम्बिन सक्नेसमेत स्पष्ट पारे।
जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरका अनुसार आज कोहलपुरको अधिकतम तापक्रम ३९.४ डिग्री सेल्सियस रेकर्ड गरिएको छ। कार्यालयका सिनियर डिभिजनल हाइड्रोलोजिष्ट रामप्रसाद अवस्थीले बाँकेकै नेपालगन्जमा ३९.२ डिग्री सेल्सियस र खजुरामा ३८.८ डिग्री सेल्सियस अधिकतम तापक्रम मापन गरिएको जानकारी दिए। तराईमा बढेको यो अत्यधिक गर्मी र तातो हावाका कारण जनजीवन निकै कष्टकर बन्दै गएको छ।