ईश्वरी हत्या प्रकरण: किटानी जाहेरीका आधारमा थप तीन जना पक्राउ
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २४ आइतबार
213
Shares
काठमाडौँ । काठमाडौँको तारकेश्वरमा भएको ईश्वरी भुजेल हत्या प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले थप तीन जनालाई नियन्त्रणमा लिएको छ। तारकेश्वर नगरपालिका–६ पैँयुटार बस्ने ‘नेपाली ब्रो’ नामले चिनिने चर्चित टिकटकर कुमार थापा मगरले शुक्रबार राति घरायसी विवादका क्रममा धारिलो हतियार प्रयोग गरी आफ्नी ४२ वर्षीया श्रीमती ईश्वरीको हत्या गरेका थिए।
उक्त घटनामा अन्य व्यक्तिको पनि संलग्नता रहेको भन्दै परेको किटानी जाहेरीका आधारमा प्रहरीले थप तीन जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा तारकेश्वर नगरपालिका–४ का ३६ वर्षीय विक्रम थापामगर, काठमाडौँ महानगरपालिका–१६ बालाजु बस्ने ४० वर्षीय पुजन थापा क्षेत्री र जुम्लाको हिमा गाउँपालिका–१ घर भई हाल काठमाडौँ बस्ने २५ वर्षीया प्रतीक्षा आचार्य रहेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार किटानी जाहेरी परेलगत्तै प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो। मुख्य आरोपी अर्थात् ईश्वरीका श्रीमान् कुमार थापालाई प्रहरीले शुक्रबार राति नै घटनास्थलबाट नियन्त्रणमा लिइसकेको थियो।
घरायसी विवाद बढ्दै जाँदा श्रीमान्को आक्रमणबाट गम्भीर घाइते भएकी ईश्वरीको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारका क्रममा मृत्यु भएको थियो। पक्राउ परेका चारै जनामाथि थप अनुसन्धानका लागि काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरिएको छ र प्रहरीले घटनाको चुरो पत्ता लगाउन अनुसन्धानको प्रक्रियालाई अगाडि बढाएको छ।