arrow

रास्वपा पर्सामा आन्तरिक विवाद सतहमा, कुर्मीमाथि आक्रमण, निर्वाचन प्रक्रिया स्थगित

logo
दीपेन्द्र चौहान, 
प्रकाशित २०८३ जेठ २३ शनिबार
rsp-parsa-83-2-23.jpg.jpeg

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सामा जिल्ला अधिवेशन नजिकिँदै जाँदा आन्तरिक विवाद सतहमा आएको छ । पार्टीभित्र नेतृत्व, संगठन विस्तार र प्रतिनिधि छनोट प्रक्रियालाई लिएर दुई पक्षबीचको मतभेद अहिले खुला आरोप–प्रत्यारोप र सडकमा कुटाकुटको तहमा पुगेको छ।

पर्सा जिल्लाका चार निर्वाचन क्षेत्रमध्ये क्षेत्र नं. २ का सांसद सुशील साह, क्षेत्र नं. ३ का सांसद रमाकान्त रौनियार तथा क्षेत्र नं. ४ का सांसद टेकबहादुर शाक्य एकातिर देखिएका छन् भने क्षेत्र नं. १ का सांसद तथा रास्वपा पर्साका जिल्ला सभापति हरि पन्त एक्लिएका छन् ।

हालै सम्पन्न वीरगञ्ज महानगर समितिको निर्वाचनमा सभापति पन्त निकट समूहले अपेक्षाकृत कमजोर परिणाम हात पार्दै केही पदमा सफलता प्राप्त गरे पनि अध्यक्षसहित अधिकांश पदमा पन्त इतर समूह विजयी भएको थियो । त्यसयता संगठनभित्रको तनाव झन् बढेको छ।

पार्टी स्थापनाकालदेखि नै सक्रिय रहेका महादेवप्रसाद कुर्मीले जिल्ला नेतृत्वमाथि मतदाता नामावली निर्माण प्रक्रियामा अनियमितता गरेको आरोप लगाएका छन् । उनका अनुसार निर्वाचन प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै होटल गेटवेस्थित निर्वाचन समितिमा ज्ञापनपत्र बुझाइएको थियो । 

त्यसक्रममा निर्वाचन समितिले मतदाता नामावलीमाथि छानबिन आवश्यक रहेको जनाउँदै निर्वाचन प्रक्रिया स्थगित गरेको सूचना आज दिउँसो सवा एक बजे निर्वाचन समितिकी सदस्य राधिका न्यौपानेले जारी गरेकी भए पनि भित्रभित्रै मनोनयन प्रक्रिया अगाडि बढाइएको थाहा पाएर विरोध जनाउँदा आफूहरूमाथि आक्रमण भएको कुर्मीको आरोप छ।

यता जिल्ला अधिवेशनको पूर्वसन्ध्यामा संगठन सञ्चालन शैलीलाई लिएर सभापति हरि पन्तमाथि गम्भीर आरोपहरू लगाइएका छन्। पार्टीका केही नेताहरूले पन्तले संगठनलाई गुटगत स्वार्थअनुसार सञ्चालन गरेको, प्रतिनिधि छनोट प्रक्रियामा हस्तक्षेप गरेको तथा केही पालिकाबाट निर्वाचित प्रतिनिधिहरूलाई समावेश नगरेको आरोप लगाएका छन् ।

विशेषगरी क्षेत्र नं. ४ अन्तर्गतका धोबिनी, ठोरी, बिन्दवासिनी र जिराभवानी गाउँपालिकाबाट चयन भएका प्रतिनिधिहरूलाई जिल्ला प्रतिनिधिको सूचीमा समावेश नगरिएको आरोप त्यहाँबाट निर्वाचित सांसद टेकबहादुर शाक्यको रहेको छ। 

त्यस्तै क्षेत्र नं. ३ का केही पालिकामा अधिवेशन प्रक्रिया प्रभावित पारिएको दाबी सांसद रमाकान्त रौनियारको रहेको छ। कालिकामाई, छिपहरमाई र जगरनाथपुरका तदर्थ संरचनाप्रति जिल्ला नेतृत्वले विभेदपूर्ण व्यवहार गरेको आरोप लगाएका छन्। उनीहरूका अनुसार संगठन विस्तार र नयाँ नेतृत्वको सहभागितालाई सीमित गर्ने प्रयासले पार्टीभित्र असन्तोष बढाएको छ।

रास्वपाका सभापति रवि लामिछानेले आजै पार्टीको महाधिवेशनको सन्दर्भमा सार्वजनिक रूपमा संगठनभित्र बढ्दै गएको व्यक्तिवाद, पदलोलुपता र गुटबन्दीप्रति चिन्ता व्यक्त गरेका थिए। उनले पार्टीलाई व्यक्तिकेन्द्रित नभई विधि, पद्धति र संस्थागत संस्कृतिअनुसार अघि बढाउनुपर्ने धारणा राखेका छन्।

पर्सामा देखिएको पछिल्लो विवादले पार्टी नेतृत्वले उठाउँदै आएको आन्तरिक शुद्धीकरण र संगठन सुदृढीकरणको बहसलाई थप गम्भीर बनाएको राजनीतिक विश्लेषकहरूको भनाइ छ। 

यसैबीच निर्वाचन समिति संयोजक नन्दन यादवले राधिका न्यौपानेको विज्ञप्तिबारे आफूलाई थाहा नभएको भन्दै निर्वाचन भाँड्ने तत्वहरूको कारण आइतबार बिहान ८ बजेसम्मका लागि निर्वाचन प्रक्रिया स्थगित गरिएको बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ