arrow

द्वन्द्वको छाया विश्वकपमा, अमेरिकाले भिसा नदिएको इरानको आरोप

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २३ शनिबार
fifa-hq-logo.jpg

काठमाडौँ । विश्वकप फुटबल प्रतियोगिता सुरु हुन करिब एक हप्ता मात्र बाँकी रहँदा सहभागी राष्ट्रहरूबाट आयोजक देशका लागि प्रवेशआज्ञा (भिसा) लिने र उनीहरूको व्यवस्थापन गर्ने क्रम तीव्र बनेको छ। 

यस पटकको विश्वकप फुटबल प्रतियोगिता संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्दै छन्, जसको भव्य उद्घाटन यही जेठ २९ गते (जुन ११) हुने तय भएको छ।

यसैबिच, आयोजक राष्ट्रमध्येको एक अमेरिका र इरानबिच जारी कूटनीतिक द्वन्द्वको छाया विश्वकपमा पनि देखिएको छ। अमेरिकाले विश्वकप प्रतियोगितामा सहभागी हुन लागेको इरानी फुटबल टोलीका केही महत्त्वपूर्ण सदस्यहरूलाई भिसा नदिएर ‘विभेदपूर्ण व्यवहार’ गरेको गम्भीर आरोप इरानले लगाएको छ।

टर्कीस्थित इरानी दूतावासले अङ्कारामा रहेका अमेरिकी राजदूत टम कराकसमक्ष आक्रोश पोख्दै खेलाडीहरूलाई मात्र भिसा दिएर टोलीका अभिन्न अङ्ग मानिने अन्य सदस्यलाई रोकिएको दाबी गरेको छ। दूतावासले अमेरिकी राजदूतलाई प्रश्न गर्दै भनेको छ:

“व्यवस्थापकीय र कार्यकारी कर्मचारी, प्राविधिक सल्लाहकारहरू र अन्य जो कुनै पनि राष्ट्रिय फुटबल टोलीको अभिन्न अङ्ग हुन्, उनीहरूलाई भिसा दिन अस्वीकार गरिएको छ भनेर तपाईं किन भन्नुहुन्न? इरानको राष्ट्रिय फुटबल टोलीविरुद्ध जानाजानी र भेदभावपूर्ण व्यवहारलाई उच्च स्तरमा पुर्‍याइएको छ।”

इरानको राष्ट्रिय फुटबल टोलीका प्रमुख मेहदी ताजले इरानी प्रतिनिधिमण्डलले भिसाका लागि राहदानी बुझाएपछि कूटनीतिक पहलका लागि अमेरिकी दूतावासको प्रशंसा गरेका थिए। शुक्रबार सरकारी टेलिभिजनसँग कुरा गर्दै ताजले टोलीका सबैजनालाई भिसा जारी गरिने र यसमा कुनै समस्या नहुने आशा व्यक्त गरेका थिए। तर, शनिबार इरानी सञ्चारमाध्यम र ‘भर्जेश–३’ नामक इरानी स्पोर्ट्स अनलाइनले प्रमुख मेहदी ताज स्वयम्‌सहित प्रतिनिधिमण्डलका अन्य सदस्यहरू, कार्यकारी सदस्यहरू र खेल विश्लेषकहरूलाई अमेरिकाले भिसा नदिएको खुलासा गरेका छन्।

भिसा विवाद र उत्पन्न तनावका बिच इरानी टोलीले विश्वकप अवधिभर बस्ने आफ्नो मुख्य स्थान (बेस क्याम्प) नै परिवर्तन गरेको छ। सुरुमा अमेरिकी राज्य एरिजोनाको टक्सनमा बस्ने तय गरेको इरानी टोलीले अब आफ्नो बसाइलाई उत्तरपश्चिमी मेक्सिकन सीमावर्ती सहर ‘तिजुआना’ मा स्थानान्तरण गरेको छ।

बेस क्याम्प मेक्सिकोमा सारे पनि इरानी टोलीको समूह चरणका सबै तीन खेलहरू भने संयुक्त राज्य अमेरिकामै हुने कार्यतालिका रहेको छ। सार्वजनिक तालिका अनुसार इरानले जुन १५ मा न्युजिल्यान्डसँग र जुन २१ मा बेल्जियमसँग लस एन्जलसमा प्रतिस्पर्धा गर्नेछ भने समूह चरणको अन्तिम खेल जुन २७ मा इजिप्टसँग सियाटलमा खेल्नेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ