मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी, यात्रुलाई धैर्य गर्न आग्रह
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २३ शनिबार
325
Shares
काठमाडौँ । मध्यपहाडी लोकमार्ग सडकखण्ड अन्तर्गत खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङस्थित पङ्खुखोला र आसपासको सडक बाढीले बगाएपछि यातायात सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ । शुक्रबार साँझ परेको भारी वर्षासँगै आएको भीषण बाढीले सडक बगाएपछि यो सडकखण्ड भएर चल्ने यातायातका साधनहरू ठप्प भएका हुन् ।
सडक अवरुद्ध भएसँगै भोजपुरबाट काठमाडौँतर्फ जाँदै गरेका र काठमाडौँबाट भोजपुरतर्फ आउँदै गरेका बस, सुमो तथा मोटरसाइकलका यात्रीहरू बीच बाटोमै अलपत्र परेका छन् ।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विशन राईले अवरुद्ध सडक खुलाउने प्रयास तीव्र पारिएको बताए । सडक खुलाउन केही समय लाग्ने भएकाले यात्रुहरूलाई धैर्य गर्न आग्रह गर्दै उनले नगरपालिकाले डोजर, स्काभेटर र आवश्यक कामदारहरू घटनास्थलमा परिचालन गरिसकेको जानकारी दिए ।
नगरपालिका–९ का वडाध्यक्ष दिनेश कठायतका अनुसार पङ्खुखोलाभन्दा माथिबाट आएको लेदोसहितको बाढीले करिब २५ देखि ३० मिटर सडक पूर्ण रूपमा पुरेको छ ।
जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतले अवरुद्ध सडक खुलाउन र यात्रुको सहजीकरणका लागि प्रहरी चौकी चिउरीडाँडा र जिल्ला प्रहरी कार्यालयबाट विशेष टोली परिचालन गरिएको बताए ।
पङ्खुखोलामा विसं २०७३ देखि नै मोटरेबल पक्की पुल निर्माण गरेर सञ्चालनमा ल्याउने गरी ठेकेदारले काम थालेको थियो । तर, लोकमार्ग कालोपत्र भइसक्दा पनि लामो समयसम्म पक्की पुल निर्माण नहुँदा यातायातका साधनहरू खोलाबाटै जोखिमपूर्ण रूपमा वारपार गर्न बाध्य थिए ।
पक्की पुल अलपत्र परेपछि बिरामी तथा विद्यार्थीहरूलाई आवतजावतमा सहज होस् भनेर श्रम संस्कृति पार्टीमा आबद्ध श्रमदाताहरूले यही जेठ १७ गते मात्रै अटो र मोटरसाइकल वारपार गर्न मिल्ने अस्थायी काठे पुल निर्माण गरेका थिए । तर, शुक्रबारको बाढीले उक्त काठे पुल समेत बगाएपछि अहिले पैदलयात्रुलाई समेत आवतजावतमा ठुलो समस्या भएको छ ।
श्रम संस्कृति पार्टीका प्रदेश अध्यक्ष प्रताप राईले श्रमदाताको प्रयासमा बनेको पुल बगाएकाले अब सम्बन्धित निकायले यो समस्याको दीर्घकालीन समाधान (पक्की पुल निर्माण) तर्फ तत्काल ध्यान दिनुपर्ने माग गरे ।
गएराति मध्यपहाडी लोकमार्गकै साप्सुखोलामा आएको बाढीले निर्माण व्यवसायीको एउटा ‘ब्रेकर’ बगाएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडा र साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाको सिमानामा पर्ने साप्सुखोला किनारमा ढुङ्गा फुटाउन प्रयोग गरिँदै आएको उक्त मेसिन बाढीले बगाएको हो ।
खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङका अनुसार भीषण वर्षाका कारण मध्यपहाडी लोकमार्ग मात्र नभई जिल्लाका अधिकांश ग्रामीण सडकहरू समेत अवरुद्ध भएका छन् ।
खोटाङमा विसं २०६४ मा नेपाली सेनाको हेलिकप्टरमार्फत गाडी बोकेर ल्याई पहिलो पटक यातायात सेवा सुरु गरिएको थियो । हाल जिल्लाका सबैजसो ठाउँमा सडक सञ्जाल विस्तार भए पनि यहाँका अधिकांश ग्रामीण सडकहरू वर्षमा ६ महिना मात्रै सञ्चालन हुने गरेका छन् । हरेक वर्षको जेठदेखि कात्तिक अन्तिमसम्म खोटाङका सडकहरूमा यस्तै सास्ती भोग्नुपर्ने बाध्यता रहेको महासचिव हिङमाङले बताए ।