औषधि अभाव तत्काल हटाउन र आपूर्तिकर्तामाथि कडाइ गर्न निर्देशन
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २३ शनिबार
292
Shares
काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले बजारमा देखिएको अत्यावश्यक औषधिको अभाव तत्काल हटाउन तथा नियमित आपूर्ति नगर्ने कम्पनीमाथि कडा नियमन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएकी छन्।
शुक्रबार औषधि व्यवस्था विभाग र राष्ट्रिय औषधि प्रयोगशालाको स्थलगत निरीक्षणका क्रममा मन्त्री मेहताले दुवै निकायको सेवा प्रवाह, कार्यसम्पादन र विद्यमान समस्याबारे जानकारी लिँदै उच्च अधिकारीहरूसँग छलफल गरेकी हुन्।
छलफलका क्रममा उनले औषधि आपूर्ति प्रणालीलाई थप व्यवस्थित, गुणस्तरीय र प्रभावकारी बनाउन आवश्यक सुधारका काम तत्काल अघि बढाउन निर्देशन दिइन्।
बजारमा केही अत्यावश्यक औषधिको अभावबारे जनगुनासो आएको उल्लेख गर्दै उनले आपूर्ति र व्यवस्थापनलाई सहज बनाउन प्रभावकारी कदम चाल्न आग्रह गरिन्।
मन्त्री मेहताले औषधि आपूर्ति तथा वितरणको अनुमति प्राप्त गरे पनि बजारमा नियमित रूपमा औषधि उपलब्ध नगराउने कम्पनीमाथि तत्काल नियमन प्रक्रिया अघि बढाउन विभागलाई निर्देशन दिइन्।
अनुमति लिएर पनि जिम्मेवारीअनुसार काम नगर्ने कम्पनीलाई कानूनी दायरामा ल्याइने उनको भनाइ थियो।
नयाँ औषधि आपूर्ति तथा वितरण अनुमतिका लागि निवेदन दिएर लामो समयदेखि प्रक्रियामा रहेका कम्पनीहरूको विषयमा पनि उनले विशेष चासो व्यक्त गरेकी छन्। त्यस्ता कम्पनीहरूको स्थलगत निरीक्षण, आवश्यक जाँचबुझ र बाँकी प्रक्रिया छिटो टुंग्याउन विभागलाई निर्देशन दिइएको छ।
औषधि व्यवस्था विभागको नियामक क्षमता अभिवृद्धिका लागि आवश्यक सुधार, स्रोतसाधन र जनशक्ति व्यवस्थापनको योजना तयार गरी मन्त्रालयमा तत्काल पेस गर्न पनि मन्त्री मेहताले निर्देशन दिएकी छन्।
उनका अनुसार औषधि आपूर्ति तथा वितरण अनुमतिपत्र (लाइसेन्स) प्रदान गर्ने प्रक्रियालाई थप पारदर्शी, प्रभावकारी र उत्तरदायी बनाउनुपर्ने आवश्यकता छ।
मन्त्री मेहताले नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय भएकाले नेपाल सरकारले निःशुल्क वितरण गर्ने औषधि तथा स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत उपलब्ध गराइने औषधिको गुणस्तरमा कुनै सम्झौता नहुने स्पष्ट पारिन्।
उनले राष्ट्रिय औषधि प्रयोगशाला र औषधि व्यवस्था विभागलाई ती औषधिको नियमित गुणस्तर परीक्षण तथा प्रभावकारी अनुगमन सुनिश्चित गर्न आवश्यक व्यवस्था मिलाउन पनि निर्देशन दिएकी छन्।