arrow

संरक्षण र प्रवर्द्धनको पर्खाइमा ऐतिहासिक सुनखानी गुफा

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २३ शनिबार
cave-mugu.jpg

मुगु । मुगुको सोरु गाउँपालिका अन्तर्गत माथिलिब्रु गाउँ नजिक रहेको ऐतिहासिक तथा प्राचीन सुनखानी गुफा प्रचारप्रसार, संरक्षण र सरकारी चासोको अभावमा ओझेलमा परेको छ।

प्राकृतिक सौन्दर्य र पुरातात्त्विक महत्व बोकेको यो गुफालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने पर्याप्त सम्भावना भए पनि आवश्यक पूर्वाधार र अनुसन्धानको अभावले यसको पहिचान स्थापित हुन सकेको छैन।

स्थानीय राज शाही ठकुरीका अनुसार गुफाको भित्री संरचना आकर्षक र रहस्यमय छ भने यसको ऐतिहासिक पृष्ठभूमि पनि निकै महत्वपूर्ण छ। तर, राज्यका तर्फबाट यसको खोज, अनुसन्धान र संरक्षणका लागि कुनै ठोस पहल नभएको उनको गुनासो छ।

स्थानीयवासीका अनुसार सुनखानी गुफा हुम्ला-कर्णाली क्षेत्रसम्म जोडिएको हुन सक्छ। गुफाबाट करिब आधा किलोमिटर तल हुम्ला कर्णाली नदी छ।

गुरादेउताका धामी अंगबहादुर शाहीका अनुसार घटकुना, सुनखानी र थलोहाले क्षेत्रमा एउटै लाइनमा तीन ओटा प्राचीन गुफा रहेका छन्, जसले यस क्षेत्रको ऐतिहासिक र सांस्कृतिक महत्वलाई थप उजागर गर्छ।

सुनखानी गुफासँग स्थानीय जनविश्वास र किंवदन्ती पनि जोडिएको छ। परापूर्वकालमा लिब्रु गाउँका बालबालिका हराउने र खोजी गर्दा गुफाभित्र भेटिने गरेको विश्वास छ।

त्यसपछि गाउँलेले समइजु देउतासँग प्रार्थना गरेपछि देउताले गुफाभित्र रहेको दुष्ट शक्तिको अन्त्य गरेको र त्यसयता बालबालिका हराउन छाडेको किंवदन्ती स्थानीय समाजमा प्रचलित छ।

विकट भौगोलिक अवस्था र यातायातको सीमित पहुँचका कारण गुफासम्म पर्यटक पुग्न सकेका छैनन्। स्थानीय भक्त शाहीका अनुसार प्रचारप्रसारको अभावमा ऐतिहासिक महत्व बोकेको गुफा अहिले भेडाबाख्रा ओत लाग्ने स्थानजस्तै बनेको छ।

माथिलिब्रु गाउँबाट गुफासम्म पुग्न करिब १५ मिनेट लाग्छ भने कर्णाली करिडोरबाट करिब एक घण्टाको पैदल यात्रा गर्नुपर्ने स्थानीय बताउँछन्। गाउँमा यति महत्वपूर्ण सम्पदा हुँदाहुँदै पनि यसको संरक्षण र विकासमा कुनै निकायले चासो नदिएको स्थानीयको गुनासो छ।

स्थानीय रनवीर शाहीले गाउँसम्म सडक र कर्णाली करिडोरको पहुँच पुगिसकेको उल्लेख गर्दै सुनखानी गुफालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न स्थानीय, प्रदेश र संघ सरकारले आवश्यक बजेटसहित अनुसन्धान र प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए।

पूर्व वडाध्यक्ष डबल शाहीले सरकारले गुफालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सके स्थानीयको आयआर्जन बढ्नुका साथै रोजगारीका अवसर सिर्जना हुने विश्वास व्यक्त गरे।

उनका अनुसार सोरु गाउँपालिकाको यस प्राचीन गुफालाई मुगुको प्रसिद्ध रारा क्षेत्रसँग जोडेर नयाँ पर्यटन सर्किटका रूपमा विकास गर्न सकिने सम्भावना छ।

स्थानीयवासीले गुफाको वैज्ञानिक अध्ययन, ऐतिहासिकता पुष्टि, मर्मत-सम्भार, भित्र प्रकाश व्यवस्थापन तथा पहुँच मार्गको स्तरोन्नतिका लागि सम्बन्धित निकायले पहल गर्नुपर्ने माग गरेका छन्।

उनीहरूका अनुसार यसो गर्न सके गुफाले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्दै मुगुको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउन सक्छ।

हाल स्थानीय राज शाही ठकुरीले गुफाको प्रचार-प्रसारका लागि त्यहाँ पुगेर भिडियो तथा तस्बिर तयार गरी सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्ने अभियान सञ्चालन गरिरहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ