arrow

प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएर फर्के रवि [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २२ शुक्रबार
ravi-lamichhene-22-1.jpg

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) का अध्यक्षलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा दिएको खुलासा गरेका छन् । पाँच दिने भारत भ्रमण सम्पन्न गरी शुक्रबार स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो जानकारी दिएका हुन् ।

सभापति लामिछानेका अनुसार नेपाल भ्रमणको निम्तोलाई लिएर प्रधानमन्त्री मोदी र भाजपा अध्यक्ष दुवै जना अत्यन्तै सकारात्मक देखिएका छन् । विभिन्न देशका राजनीतिक दलहरूबिच एक–अर्काको मुलुकमा भ्रमण गर्ने र निमन्त्रणा आदानप्रदान गर्ने कार्य कूटनीतिको एक निरन्तर प्रक्रिया भएको स्पष्ट पार्दै उनले दुवैतर्फको समय मिलेपछि यो भ्रमण अनुकूल समयमा हुने विश्वास व्यक्त गरे ।

भारतमा रहेका नेपाली नागरिकहरूले भोग्दै आएका समस्याका विषयमा सञ्चारकर्मीहरूले राखेको जिज्ञासामा सभापति लामिछानेले त्यहाँस्थित नेपाली दूतावास र सम्बन्धित सरकारी संयन्त्रलाई थप सक्रिय र चुस्त बनाउनुपर्नेमा विशेष जोड दिए । प्रवासमा रहेका नेपालीका समस्याहरू लगभग उस्तै प्रकृतिका हुने भए पनि तिनलाई सम्बोधन गर्ने सरकारी संयन्त्र बलियो भएमा समस्यालाई उल्लेख्य रूपमा न्यूनीकरण गर्न सकिने उनको भनाइ थियो ।

आफ्नो पार्टी सहभागी सरकार भर्खरै मात्र गठन भएकाले आजको भोलि नै सबै समस्या तत्कालै सम्बोधन गर्न सक्ने क्षमता विकास भइनसकेको यथार्थलाई स्वीकार गर्दै उनले दूतावास र सम्बन्धित संयन्त्रलाई नागरिकमैत्री बनाउने प्रयास भइरहेको बताए । भारतमा लामो समयदेखि बसोबास गर्दै आएका नेपालीहरूले स्वास्थ्योपचार, कानुनी कागजात तथा दैनिक जनजीवनमा भोग्नुपरेका जुनसुकै समस्यालाई प्रभावकारी रूपमा समाधान गर्न सरकारले आफ्नो ध्यान केन्द्रित गरेको उनले स्पष्ट पारे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ