arrow

पाँच दिने भारत भ्रमण सकेर फर्किए रवि, भेटघाट पारदर्शी र विकास केन्द्रित रहेको दाबी

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २२ शुक्रबार
ravi-lamichhene-22.jpg

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आफ्नो पाँच दिने औपचारिक भारत भ्रमण पूरा गरी शुक्रबार स्वदेश फर्किएका छन् ।

भारतको सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा) का राष्ट्रिय अध्यक्ष नितिन नवीनको विशेष निमन्त्रणामा उनी जेठ १८ गते भारत भ्रमणमा गएका थिए । स्वदेश फर्किएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सभापति लामिछानेले आफ्नो यस पटकको भ्रमण विगतका परम्परागत राजनीतिक भ्रमणहरूभन्दा विल्कुलै फरक र उपलब्धिमूलक रहेको दाबी गरे ।

पत्रकारहरूसँग कुरा गर्दै सभापति लामिछानेले नेपालका नेताहरूको वैदेशिक भ्रमण र राजनीतिक भेटघाटहरू सधैँ शङ्काको घेरामा रहने गरेको प्रवृत्तिप्रति कटाक्ष गरे । "नेपालका अधिकांश उच्चस्तरीय राजनीतिक भ्रमणहरू बन्द कोठाभित्र हुने र त्यहाँ के कुराकानी भयो भन्ने कुरा बाहिर नआउने पुरानो परम्परा छ," लामिछानेले भने, "तर हाम्रो भ्रमणमा त्यस्तो भएन । मित्रराष्ट्रका प्रतिनिधि र नेताहरूसँग भएका मेरा प्रत्येक बैठकमा नेपाली दूतावासका कार्यवाहक राजदूत आफैँ उपस्थित थिए । त्यसैले हाम्रा सबै छलफलहरू पूर्ण रूपमा पारदर्शी छन् ।"

उनले भ्रमणका क्रममा भएका संवादहरू कुनै व्यक्तिगत वा दलीय स्वार्थमा केन्द्रित नभई विशुद्ध राष्ट्रिय हित र कूटनीतिक मर्यादाभित्र रहेर गरिएकाले वार्ताका विभिन्न सकारात्मक चरणहरूमा प्रवेश गरिसकेको स्पष्ट पारे ।

आफ्नो भ्रमणको मुख्य एजेन्डाबारे प्रष्ट पार्दै रास्वपा सभापति लामिछानेले अब नेपाल–भारत सम्बन्धलाई परम्परागत राजनीतिक गफगाफमा मात्र सीमित राख्न नहुने बताए । रास्वपाले राजनीतिलाई अर्थराजनीति मा परिणत गर्ने नीति अवलम्बन गरेको उल्लेख गर्दै उनले यस पटकको भ्रमणमा विकास, द्विपक्षीय लगानी, आर्थिक सहकार्य र दुई देशबिचको साझा समृद्धिका मुद्दाहरूलाई नै मुख्य आधार बनाएर गहन छलफल गरिएको जानकारी दिए ।

नेपालको विकास नीति र आर्थिक रूपान्तरणलाई केन्द्रमा राखेर दुवै देशबिच सहकार्यका नयाँ सम्भावनाहरू पहिल्याउन भारतीय पक्षसँग सकारात्मक र उत्साहजनक संवाद भएको उनले बताए । यस भ्रमणले आगामी दिनमा नेपालमा भारतीय लगानी भित्र्याउन र आर्थिक साझेदारीलाई अझ बलियो बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास रास्वपाले लिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ