नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट घट्यो
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २१ बिहिबार
185
Shares
काठमाडौँ । नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) बाट सञ्चालित हुने परियोजना र दातृ निकायबाट आउने स्रोत (बजेट) दुवै उल्लेख्य रूपमा घटेको पाइएको छ। सरकारी तथ्याङ्क अनुसार पछिल्लो चार वर्षयता नेपालमा यस्ता परियोजनाको सङ्ख्या दुई तिहाइले र त्यसबापत भित्रिने बजेट झण्डै आधाले घटेको तथ्य बाहिर आएको हो।
बिहीबार ललितपुरमा आयोजित विकास बहस सम्बन्धी एक कार्यक्रममा बोल्दै महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयकी सचिव राधिका अर्यालले यो जानकारी दिएकी हुन्। उनका अनुसार आर्थिक वर्ष २०७८/७९ मा नेपालमा ९८ वटा परियोजना स्वीकृत भएका थिए, जसका माध्यमबाट ४० अर्ब रुपैयाँ बराबरको बजेट भित्रिएको थियो। तर, त्यसयताका वर्षहरूमा परियोजना र स्रोत दुवै निरन्तर घट्दै गएका छन्। पछिल्लो आर्थिक वर्ष २०८१/८२ को तथ्याङ्क हेर्दा परियोजनाको सङ्ख्या दुई तिहाइले ओरालो लागेको छ भने बजेट पनि आधा जति घटेको छ। मन्त्रालयले चालु आर्थिक वर्षमा पनि परियोजना र बजेट घट्ने नै आकलन गरेको छ।
स्रोेत र परियोजना यसरी घट्नुमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कारकहरू जिम्मेवार रहेको सचिव अर्यालले बताइन्। उनले विश्वव्यापी रूपमा देखिएको आर्थिक सङ्कट (ग्लोबल इकोनोमिक क्राइसिस) र दातृ निकायहरूको नीतिगत परिवर्तन (ग्लोबल पोलिसी सिफ्ट) यसको मुख्य कारण हुन सक्ने उल्लेख गरिन्। यसका साथै नेपाल सन् २०२६ को अन्त्यसम्ममा अल्पविकसित मुलुक (एलडीसी) बाट विकासोन्मुख मुलुकमा स्तरोन्नति (ग्र्याजुएट) हुन लागेको सन्दर्भ र नेपालको आन्तरिक आत्मनिर्भरता वा क्षमता बढेका कारण पनि वैदेशिक अनुदान र परियोजनाहरू घटेको हुन सक्ने उनको भनाइ छ।
यसै गरी, कार्यक्रममा बोल्दै सचिव अर्यालले नेपालमा कार्यरत गैरसरकारी संस्थाहरूको गतिविधि र कार्यशैलीलाई आगामी दिनमा थप कडाइका साथ अनुगमन तथा मूल्याङ्कन गर्नुपर्ने आवश्यकता रहेको समेत औँल्याएकी छन्।