इलाम । इलामको सिमाना डाँडा यतिबेला पूर्वी नेपालको आकर्षक पर्यटकीय गन्तव्यका रूपमा परिचित बन्दै गएको छ। यहाँबाट कञ्चनजङ्घा र कुम्भकर्ण हिमाल का चम्किला हिमशृङ्खलासहित नेपाल-भारत सीमावर्ती क्षेत्रका मनोरम दृश्य अवलोकन गर्न सकिन्छ।
चिसो हावा, हरियाली वातावरण र हिमाली दृश्यका कारण पर्यटकको आकर्षण बढ्दै गए पनि यहाँ पुग्न नेपालीहरूले आफ्नै देशको व्यवस्थित बाटो नपाउँदा समस्या भोग्नुपरेको छ। नेपाली भूभागमै रहेको यस स्थलमा पुग्न हालसम्म नेपालतर्फबाट न सडक निर्माण भएको छ, न त व्यवस्थित पदमार्ग नै।
यसका कारण पर्यटकहरू भारतीय भूभाग हुँदै दार्जिलिङतर्फको सडक प्रयोग गरेर सिमाना डाँडा पुग्न बाध्य छन्। सूर्योदय नगरपालिका लाई पर्यटकीय नगरी घोषणा गरिए पनि सीमा क्षेत्रमा रहेको यो महत्वपूर्ण गन्तव्य पूर्वाधार विकासको प्रतीक्षामै रहेको स्थानीयको गुनासो छ।
स्थानीयका अनुसार झण्डै एक दशकअघि दार्जिलिङ जाने पर्यटकलाई केहीबेर विश्राम गराउने स्थानका रूपमा चिनिएको सिमाना डाँडा अहिले लोकप्रिय पर्यटकीय गन्तव्यमा परिणत भएको छ।
सामाजिक सञ्जाल र पर्यटकहरूको अनुभवमार्फत यसको चर्चा फैलिँदै जाँदा यहाँ दैनिक सयौँ नेपाली तथा ठूलो सङ्ख्यामा भारतीय पर्यटक पुग्ने गरेका छन्।
यहाँबाट ऐतिहासिक मानेभञ्ज्याङ लगायत आसपासका क्षेत्रको दृश्यावलोकन गर्न सकिन्छ। तर पर्यटकको चहलपहल बढे पनि विश्रामस्थल, दृश्यावलोकन संरचना, पदमार्ग र अन्य आधारभूत पर्यटकीय पूर्वाधारको अभाव कायमै छ।
सीमापार भारततर्फ पर्यटकका लागि सडक र अन्य सुविधा विस्तार भइसकेको अवस्थामा नेपालतर्फ भने पूर्वाधार विकास सुस्त देखिएको छ।
पर्यटन क्षेत्रका जानकारहरू सिमाना डाँडालाई सडक, पदमार्ग तथा आवश्यक संरचनासहित विकास गर्न सके इलाम मात्र नभई समग्र देशकै पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने बताउँछन्।
स्थानीयवासीले सरकारले सीमा क्षेत्रका पर्यटकीय गन्तव्यलाई प्राथमिकतामा राखी पहुँच मार्ग र पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने माग गरेका छन्।
उनीहरूका अनुसार आफ्नै भूमिमा पुग्न विदेशी बाटो प्रयोग गर्नुपर्ने अवस्था अन्त्य गर्दै सिमाना डाँडाको पर्यटन सम्भावनालाई व्यवहारिक रूपमा उपयोग गर्न आवश्यक छ।