न्यून चापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव, यस्तो रहनेछ आजको मौसम
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २१ बिहिबार
215
Shares
काठमाडौँ । मुलुकको पश्चिमी क्षेत्र आसपासको उपल्लो वायुमण्डलमा रहेको न्यून चापीय प्रणाली तथा स्थानीय वायुको प्रभावका कारण देशका हिमाली तथा पहाडी भू–भागमा वर्षा र हिमपात हुने सम्भावना देखिएको छ। यसै गरी, तराईका केही क्षेत्रमा भने तापक्रम वृद्धि भई गर्मी बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भागमा साधारणतया बदली रहेको छ भने कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। तराईका अधिकांश क्षेत्रमा भने अहिले मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसो देशका हिमाली तथा पहाडी भागमा साधारणतया बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने महाशाखाको अनुमान छ। पहाडी र हिमाली भागका केही स्थानहरू तथा मधेस र कोशी प्रदेशका तराईका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ।
यसै गरी मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा गुड्ने गुड्ने गरी तापक्रम बढ्ने अनुमान गरिएको छ।
राति देशका हिमाली भागमा साधारणतया बदली रहनेछ भने पहाडी भाग तथा मधेस र कोशी प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहनेछ। बाँकी तराई क्षेत्रमा भने राति मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
कोशी र मधेस प्रदेशसहित बागमती प्रदेशका हिमाली तथा पहाडी भाग तथा गण्डकी र कर्णाली प्रदेशका हिमाली भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ। साथै, देशका हिमाली तथा पहाडी भागका केही तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा वा हिमपात हुन सक्नेछ।
मधेस तथा कोशी प्रदेशका तराई क्षेत्रमा तापक्रम बढ्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। मौसममा आउने परिवर्तन र यसबाट हुन सक्ने जोखिमबाट बच्न मौसमसम्बन्धी पछिल्ला सूचनाहरूमा अद्यावधिक रहन सम्बद्ध सबैमा अनुरोध गरिएको छ।