बुटवल–नारायणगढ सडक खण्डमा यात्रा सहज बन्दै, यात्रुले पाए राहत
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १९ मंगलबार
565
Shares
काठमाडौँ । वर्षौंदेखि निर्माण कार्यका कारण जाम, धुलो र अस्तव्यस्तताको समस्या झेल्दै आएको बुटवल–नारायणगढ सडक खण्डमा सवारी आवागमन अब सहज बन्दै गएको छ। सडक विस्तारअन्तर्गत ढलान तथा स्तरोन्नतिको अधिकांश काम सम्पन्न भएसँगै यात्रुले राहत महसुस गर्न थालेका छन्।
निर्माणाधीन सडकका प्रमुख भागमा ढलानको काम लगभग सकिएको र सवारीसाधन सञ्चालनका लागि सडकको अवस्था सुधार भएकाले यात्रा अवधि समेत छोटिएको छ। यसअघि घण्टौँसम्म जाममा बस्नुपर्ने बाध्यता रहेकामा अहिले बुटवल–नारायणगढको यात्रा तुलनात्मक रूपमा सहज र छिटो भएको यात्रुहरूले बताएका छन्।
सडक विस्तार आयोजनाका अनुसार अधिकांश क्षेत्रमा ढलान तथा कालोपत्र सम्पन्न भइसकेको छ भने बाँकी रहेका कामहरू पनि अन्तिम चरणमा पुगेका छन्। निर्माण कार्यले गति लिएसँगै सडकमा सवारीसाधनको चाप व्यवस्थापन हुन थालेको र आवागमनमा ठूलो सुधार देखिएको छ।
वि।सं। २०७५ देखि विस्तारको काम सुरु भएको यस सडक खण्डमा निर्माणमा भएको ढिलाइका कारण यात्रुले लामो समयसम्म ठूलो सास्ती भोग्नुपरेको थियो। तर हाल काम सम्पन्नतर्फ उन्मुख भएपछि यात्रु, स्थानीय व्यवसायी तथा यातायात व्यवसायीहरूले राहत महसुस गरेका छन्। यो आयोजना पूर्ण रूपमा पूरा भएपछि बुटवल–नारायणगढ सडक खण्डको यात्रा अझ सुरक्षित, सहज र समय बचत हुने अपेक्षा गरिएको छ।