छ हजारभन्दा बढी बचतकर्ताले मागे चार अर्ब बढीको बचत फिर्ता
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १८ सोमबार
714
Shares
काठमाडौँ । काठमाडौँ महानगरपालिका (कामपा) सहकारी विभागमा रु ४ अर्ब ७७ करोड ४९ लाख २३ हजार बचत रकम फिर्ता गराइदिनका लागि ६ हजारभन्दा बढी बचतकर्ताले माग गरेका छन्। कामपा सहकारी विभागका अनुसार पछिल्लो समय बचत रकम फिर्ता गराइदिनका लागि बचतकर्ताहरूबाट अत्यधिक माग र उजुरी आउन थालेको हो।
सहकारी विभागका प्रमुख ध्रुवकुमार काफ्लेका अनुसार गत वैशाख १७ गतेदेखि हालसम्म आएका उजुरीका आधारमा ६ हजार ३०० बचतकर्ताले बचत रकम फिर्ताको माग दाबी गरेका हुन्। यसरी माग दाबी गर्नेहरूमा रु १ लाखदेखि रु ५ लाखसम्म रकम भएका बचतकर्ताहरू बढी रहेका छन्।
प्रमुख काफ्लेले दिएको जानकारी अनुसार औसतमा दैनिक ५०० देखि १ हजार रुपैयाँसम्म जम्मा गर्ने अर्थात् साना रकम जम्मा गर्ने बचतकर्ताको सङ्ख्या अत्यन्तै धेरै छ। कुल उजुरी आएकामध्ये यसरी साना रकम जम्मा गर्ने बचतकर्ताको सङ्ख्या ७८ प्रतिशत रहेको छ।
कामपा–६ मा सञ्चालित बुद्ध दर्शन सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडले गत सोमबार र मङ्गलबार गरी ३४ जना बचतकर्ताको बचत रकम फिर्ता गरेको छ। उक्त संस्थाले ती दिनहरूमा रु १ लाख ५० हजारसम्म बचत गर्ने नागरिकहरूको रकम फिर्ता गरेको हो।
विभागका अनुसार उक्त सहकारीले आगामी एक महिनाभित्र रु ५ लाखसम्म बचत गर्ने बचतकर्ताको रकम समेत फिर्ता दिने योजना बनाएको छ। ठूला बचतकर्ताको हकमा भने कामपाले सहकारी विभागसँग समन्वय गरेर ऋणीहरूलाई ताकेता गर्ने र बचतकर्ताको रकम फिर्ता गराउँदै जाने गरी कार्य अघि बढाएको छ।
कामपा सहकारी विभागले बचत फिर्ता र ऋण असुली दुवै प्रक्रियामा एकसाथ सहजीकरण गरिरहेको बताएको छ। बचत रकम फिर्ताका लागि गरिने सहजीकरण प्रक्रियाबारे जानकारी दिँदै प्रमुख काफ्लेले सुरुमा माग दाबीसहितको निवेदन लिने र त्यसपछि संस्थाका सञ्चालक तथा बचत फिर्ता माग गर्ने पक्षबीच छलफल र मिलापत्र गराउने प्रयास गरिने स्पष्ट पारे।
यदि वडास्तरको मेलमिलापबाट विवाद नटुङ्गिएमा विभाग आफैँले मिलाउने प्रयास गर्छ। यो प्रक्रियाका क्रममा संस्थाका सञ्चालकहरू सम्पर्कमा आउन अटेर गरेमा वा जिम्मेवारीबाट पन्छिन खोजेमा कारबाहीका लागि सिफारिस समेत गरिने प्रमुख काफ्लेले जानकारी दिए।