प्रधानमन्त्रीले बोलेको कुराले सबै नेपालीको शीर झुकेको छ - गुरु बराल [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १७ आइतबार
731
Shares
काठमाडौँ । नेपालले पनि भारतको सीमा मिचेको रहेछ भन्ने प्रधानमन्त्री वालेन्द्र साहको अभिव्यक्तिप्रति प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले आपत्ति जनाएको छ।
आइतवार सिंहदरबारस्थित संसद् परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा एमालेका सांसद गुरुप्रसाद बरालले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिले आम नेपालीको शीर झुकाएको उल्लेख गर्दै त्यसलाई आफ्नो पार्टीले गम्भीरतापूर्वक लिने बताए। प्रधानमन्त्रीको सो गैरजिम्मेवारपूर्ण अभिव्यक्तिले सम्पूर्ण नेपालीहरूको प्रतिष्ठा र राष्ट्रिय स्वाभिमानमा गम्भीर आँच पुर्याएको उनको जिकिर छ।
सञ्चारकर्मीहरूसँग बोल्दै एमाले सांसद बरालले देशको सीमा जस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीले संसद् (हाउस) मै उभिएर त्यस्तो गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिनु अत्यन्तै दुःखद र आपत्तिजनक रहेको उल्लेख गरे।
उनले भने, “नेपालले समेत भारतको भूमि मिचेको रहेछ । म प्रधानमन्त्री भएपछि यो कुरा थाहा पाएँ भनेर प्रधानमन्त्रीले जसरी आज हाउसमा बोल्नु भएको छ । यसले हामी सबै नेपालीको शीर झुकेको छ । र, प्रधानमन्त्रीको हैसियतले यसरी देशको सीमाका विषयमा नेपालले भारतको सीमाना मिचेको छ भनेर अभिव्यक्ति दिनु अत्यन्तै दुःखद् छ । गम्भिर आपत्तिजनक छ । र, आज यो विषय सबै नेपालीहरुका लागि गम्भिर प्रतिष्ठाको विषय बन्यो । हामी यो विषयलाई गम्भिरतापूर्वक उठाउन चाहन्छौँ । यो कुरा सबै नेपाली सबै देशभक्त स्वाभिमानीहरुको शीरमाथि उहाँले धब्बा लगाउनुभएको छ।”
सांसद बरालले प्रधानमन्त्री शाहले लगातार नेपाली जनताको प्रतिष्ठा र राष्ट्रिय भावनामा आँच आउने खालका अभिव्यक्तिहरू दिन थालेको आरोप समेत लगाए। सीमा मिचिएको विषयलाई एमालेले संसद् र सडक दुवै ठाउँमा गम्भीरताका साथ उठाउने उनले स्पष्ट पारेका छन्।