हर्मुजमा अमेरिकी हस्तक्षेप भए ‘कडा सैन्य प्रतिक्रिया’ दिने इरानको चेतावनी
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १७ आइतबार
1.3k
Shares
काठमाडौँ । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) नौसेनाले हर्मुज जलमार्गको व्यवस्थापनमा अमेरिकाले कुनै पनि प्रकारको हस्तक्षेप गरेमा ‘कडा सैन्य प्रतिक्रिया’ दिने चेतावनी दिएको छ।
आईआरजीसी नौसेनाले सार्वजनिक समुद्री रेडियो च्यानलमार्फत फारसको खाडी र ओमानको खाडीमा सञ्चालन भइरहेका जहाजहरूलाई सम्बोधन गर्दै एक सन्देश जारी गरेको छ। उक्त सन्देशमा हर्मुज जलमार्ग हाल बन्द रहेको र त्यहाँबाट आवतजावत केवल इरानी अधिकारीहरूको अनुमति र तोकिएको मार्गमार्फत मात्र सम्भव हुने जनाइएको छ।
नियम उल्लङ्घन भएमा समुद्री सुरक्षा गम्भीर रूपमा प्रभावित हुने चेतावनी दिँदै इरानले अमेरिकी नौसेनाले जलमार्गको व्यवस्थापनमा हस्तक्षेप गर्ने वा समुद्री आवागमन अवरुद्ध गर्ने कुनै पनि प्रयास गरेमा कडा सैन्य कारबाही हुने स्पष्ट पारेको छ।
यसैबीच समुद्री स्रोतसम्बन्धी एक अन्तर्राष्ट्रिय निकायले जारी गरेको सूचनामा हर्मुज क्षेत्रको स्थिति अत्यन्तै संवेदनशील रहेको उल्लेख गरिएको छ। साथै इरानी बन्दरगाहमा प्रवेश गर्न वा त्यहाँबाट बाहिर निस्कन (बहिर्गमन) निषेध गरिएको सूचनामा जनाइएको छ।
सोही क्षेत्र नजिक रहेका जहाजहरूका चालक दलका सदस्यहरूले सार्वजनिक समुद्री रेडियो च्यानलमार्फत दिएको जानकारी अनुसार अमेरिकी सैन्य विमानले एक जहाजलाई तत्काल मार्ग परिवर्तन गर्न चेतावनी दिएको छ र त्यसको गतिविधिलाई कडा निगरानीमा राखिएको छ।
यस ताजा घटनाक्रमले विश्वकै सबैभन्दा महत्त्वपूर्ण ऊर्जा आपूर्ति मार्गमध्ये एक मानिने हर्मुज जलमार्गमा तनाव झनै बढाएको देखिएको छ।