काठमाडौँ । ‘सगरमाथा, विश्वको सर्वोच्च शिखरः नेपालको पहिचान र गौरव’ भन्ने मूल नाराका साथ अमेरिकाको सान फ्रान्सिस्कोस्थित नेपाली महावाणिज्य दूतावासमा शनिबार सगरमाथा दिवस मनाइएको छ।
परराष्ट्रमन्त्री शिशिर खनालको भिडियो सन्देशबाट शुभारम्भ भएको उक्त कार्यक्रममा महावाणिज्यदूत लक्ष्मण खनालले सगरमाथा दिवसको महत्त्वबारे चर्चा गरे। उनले नेपालको प्राकृतिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाका सम्बन्धमा जानकारी दिँदै सहभागीहरूलाई आगामी भ्रमण गन्तव्यका रूपमा नेपाल रोज्न आग्रह गरे। सन् २०२६ मार्चमा नेपालमा सुशासन र आर्थिक समृद्धिलाई मुख्य लक्ष्य बनाउँदै बलियो जनादेश प्राप्त सरकार गठन भएको उल्लेख गर्दै उनले सरकारले लगानीमैत्री नीतिगत सुधार तथा प्रोत्साहन कार्यक्रमहरू अघि बढाइरहेको बताए। साथै, उनले व्यवसायीहरूलाई पूर्वाधार, पर्यटन, सेवा क्षेत्र तथा सूचना प्रविधि (आइटी) उद्योगमा लगानीका सम्भावनाहरूको अध्ययन गर्न सुझाव दिए।
अमेरिकी विदेश मन्त्रालयको सान फ्रान्सिस्कोस्थित विदेशी नियोग कार्यालयका क्षेत्रीय निर्देशक जोन वाई चोईले सगरमाथाको पहिलो सफल आरोहणको स्मरणमा नेपाल र नेपाली समुदायप्रति बधाई ज्ञापन गरे। हालका वर्षहरूमा अमेरिका–नेपाल सम्बन्ध सबै तहमा सुदृढ बन्दै गएको बताउँदै उनले अमेरिकी उच्च अधिकारीहरूको नेपाल भ्रमण तथा दुई देशबिच बढ्दो संवाद र सहकार्यले पारस्परिक सम्बन्ध अझ सुमधुर भएको उल्लेख गरे।
क्यालिफोर्नियाका लेफ्टिनेन्ट गभर्नरका वैदेशिक मामिला सल्लाहकार इभान रिडले अवसर र नवीनताको केन्द्र क्यालिफोर्निया तथा हिमालयको प्रवेशद्वार नेपालबिच जनस्तरको सम्बन्ध अझ प्रगाढ बन्दै गएको बताए। उनले व्यापार, पर्यटन, शिक्षा, वातावरण संरक्षणलगायतका क्षेत्रमा सहकार्य विस्तार गर्दै दुई देशबिचको सम्बन्ध अझ मजबुत बनाउनुपर्नेमा जोड दिए। रिचमण्ड सहरका प्रमुख एडुआर्डो मार्टिनेजले रिचमण्डमा उल्लेख्य सङ्ख्यामा बसोबास गरिरहेका नेपाली समुदायको योगदानले सहरको सामाजिक संरचना तथा आर्थिक विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै नेपाली समुदायप्रति उच्च सम्मान व्यक्त गरे।
हर्कुलस सिटीका निर्वाचित ‘काउन्सिल’ सदस्य दिली भट्टराईले ७३ वर्षअघि तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीद्वारा गरिएको सगरमाथाको पहिलो सफल आरोहणको ऐतिहासिक महत्त्वबारे चर्चा गरे। क्यालिफोर्निया विश्वविद्यालय, बर्कलीकी अनुसन्धानकर्ता नीमा शेर्पाले सगरमाथा क्षेत्रमा जलवायु परिवर्तनले पारेका प्रभावसम्बन्धी आफ्नो अनुसन्धानको निष्कर्ष प्रस्तुत गरिन्।
कार्यक्रमका अवसरमा सान फ्रान्सिस्को बे क्षेत्रमा बसोबास गर्ने चार जना सगरमाथा आरोहीलाई प्रशंसापत्रबाट सम्मान गरिएको थियो। पाँच पटक सगरमाथा आरोहण गरेका ल्हाक्पा नोर्बु शेर्पाले आफ्नो आरोहण अनुभव सुनाउँदै उच्च हिमाली क्षेत्रमा देखिएका जलवायु परिवर्तनका प्रभावबारे चर्चा गरे। त्यसैगरी, मेघा शर्माले आफ्नो एभरेष्ट बेस क्याम्प यात्राको अनुभव सुनाउँदै सहभागीहरूलाई नेपाल भ्रमणका लागि आग्रह गरिन् भने युनिभर्सिटी अफ क्यालिफोर्निया, डेभिसकी प्राध्यापक तथा पूर्व पिस कोर्प्स स्वयंसेवक डा। फेथ बाउचरले नेपाल र नेपाली जनतासँगको आफ्नो अनुभूति बाँडिन्।
महावाणिज्य दूतावासले जारी गरेको प्रेस विज्ञप्ति अनुसार कार्यक्रममा सरकारी अधिकारी, कन्सुलर कर्प्सका सदस्य, युनिभर्सिटी अफ क्यालिफोर्निया, स्टानफोर्ड र युनिभर्सिटी अफ सान फ्रान्सिस्कोका प्राध्यापक एवं शिक्षाविद्, नेपाली उद्यमी, अनुसन्धानकर्ता तथा नेपाली सामुदायिक संस्थाका प्रतिनिधिसहित ७० भन्दा बढी व्यक्तिको सहभागिता थियो। यस कार्यक्रमले नेपालको राष्ट्रिय गौरव सगरमाथाको अन्तर्राष्ट्रिय महत्त्व उजागर गर्नुका साथै नेपाल–अमेरिका सम्बन्ध, पर्यटन प्रवर्द्धन, लगानी आकर्षण तथा सांस्कृतिक आदानप्रदानलाई अझ सुदृढ बनाउन योगदान पुग्ने विश्वास महावाणिज्य दूतावासले व्यक्त गरेको छ।