सरकारले देश विकास गर्नेमा ढुक्क रहन महामन्त्री शाहको आग्रह
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १६ शनिबार
880
Shares
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी नेतृत्वको सरकारले देश विकास गर्नेमा ढुक्क रहन आग्रह गरेका छन्। चितवनको भरतपुरमा आज आयोजित रास्वपा भरतपुर महानगर समितिको प्रथम अधिवेशन उद्घाटन गर्दै उनले सो धारणा राखेका हुन्।
रास्वपाले आफ्नो चुनावी वाचापत्रअनुसार नै आगामी आर्थिक वर्षको बजेट ल्याएकाले जनतासँग गरिएका बाचाहरू पूरा गर्न आफूहरू प्रतिबद्ध रहेको महामन्त्री शाहले बताए। सरकारले पार्टीको वाचापत्रलाई प्रतिबद्धता पत्रमा ढालेर सोही अनुरूप बजेटको व्यवस्था गरेको र अब त्यसलाई विकासमा बदल्न अगाडि बढिरहेको उनले उल्लेख गरे। सफा नियतका साथ काम गरिरहेको दाबी गर्दै उनले पार्टी र सरकार दुवै जनताप्रतिको जिम्मेवारीमा प्रतिबद्ध रहेको स्पष्ट पारे।
सम्बोधनका क्रममा उनले पार्टी राजनीतिमा दुई किसिमका गुणहरूबीच सङ्घर्ष हुने गरेको चर्चा गर्दै पार्टी र देशलाई माया गर्ने गुणलाई साथमा लिएर हिँड्नुपर्नेमा जोड दिए। पार्टीमा निरन्तर योगदान दिने र काम गरिरहने वर्गलाई नथाक्न आग्रह गर्दै महामन्त्री शाहले एउटा सबल पार्टीको माध्यमबाट मात्रै देश निर्माण सम्भव हुने बताए।
रास्वपा सबल र सङ्गठित बनेमा कम्तीमा दुई/तीन दशक देशको नेतृत्व गर्ने दाबी गर्दै उनले अहिले पार्टीलाई जगैदेखि बलियो बनाउने उपयुक्त समय आएको उल्लेख गरे। हाल पार्टी महाधिवेशनको प्रक्रियामा होमिएको जानकारी दिँदै उनले यस सङ्गठन निर्माणको अभियानमा योगदान दिनेहरूलाई पार्टीले सोहीअनुसार अवसर दिने प्रतिबद्धता समेत जनाए। उनले एक चुस्त र बलियो सङ्गठन निर्माणका लागि सबै नेता तथा कार्यकर्ताहरूलाई सँगै मेहनत गर्न आह्वान गरेका छन्।